कृषि क्षेत्रका समस्या समाधानका लागि नयाँ व्यवस्था आउँदैछ: मन्त्री भुसाल

काठमाडौं, ७ असोज । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताए । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे ।

उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । “नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन”, मन्त्री भुसालले भने “कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।”

कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राख्नुभयो । उहाँले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताए ।

सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुषालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । “सरकार अगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ”, मन्त्री भुसालले भने, “यो सरकार संविधानभीत्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढङ्गले सञ्चालन भईरहेका छन् ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board