धमाधम मर्न थाले सुनकोसीमा किसानका बाख्रा

सिन्धुपाल्चोक, ११ असोज । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । “कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ”, तिमल्सिनाले भने । “गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।” पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे ।

गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । “मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ”, सानुले भने ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको उनले बताए । परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board