पाँच महिनाको शुल्क नलिने दोलखाका निजी विद्यालयको घोषणा

काठमाडौं, २१ असोज । दोलखाका निजी विद्यालयले ५ महिनाको शुल्क नलिने जनाएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) दोलखाका अनुसार जिल्लाभर रहेका ३३ वटा बोर्डिङ स्कुलले वैशाख महिना देखि भदौ महिनासम्मको कुनै पनि शुल्क नलिने भएको हो ।

असोज ७ गतेबाट दोलखाका विद्यालय सञ्चालन गर्ने निर्णय गरेसंगै यो निर्णय गरिएको प्याब्सन दोलखाका अध्यक्ष पर्वत थापाले जानकारी दिए । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्क लगाएतका शुल्क नलिने निर्णय गरेको थापाको भनाइ छ । असोज महिना यता भने जिल्लाका अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल, माउन्ट भ्याली एकेडेमी, एपेक्स इन्टरनेशनल बोर्डिङ स्कुल लगाएतले अनलाइन कक्षा सञ्चालन गरेको छ ।

अनलाइन कक्षा लिने विद्यार्थीले भने मासिक शुल्क तिर्नुपर्नेछ । विद्यार्थी र अभिभावकको समस्यालाई बुझ्दै ५ महिनाको शुल्क नलिने निर्णय गरेको अल्पाइन पब्लिक स्कुलका प्रधानाध्यापक उद्धव थापाले जानकारी दिए । अल्पाइनले कक्षा ३ देखि १० सम्मका विद्यार्थीका लागि अनलाइन मार्फत कक्षा सञ्चालन गरिरहेको र सो कक्षा लिने विद्यार्थीलाई मासिक शुल्कमा ३० प्रतिशत छुट दिएको थापाको भनाइ छ ।

यस अघि लकडाउनका समयमा बन्द रहेका निजी विद्यालयले शुल्क लिन सक्ने भन्दै अभिभावक चिन्तित बनेका थिए । प्याब्सनको अगुवाइमा गरिएको यो निर्णयले अभिभावकले प्रत्यक्ष लाभ लिएका छन् । दोलखा जिल्लाको विभिन्न स्थानमा ३३ वटा बोर्डिङ स्कुल सञ्चालनमा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board