जाजरकोट जिप दुर्घटनाः मृत्यु हुनेको संख्या ७ पुग्यो

सुर्खेत, २२ असोज । बुधबार जाजरकोटमा भएको जिप दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाका अनुसार बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको हो ।

सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका नरबहादुर बुढाको भने सुर्खेतस्थित देउती अस्पतालमा उपचार भइरहेको छ । जिप दुर्घटनामा मृतकका आफन्तहरुले अझै शव उठाउन दिएका छैनन् । चालकको लापरबाही र मापदण्ड विपरीत सडक खनेका कारण जिप दुर्घटनामा परेको उनीहरुको भनाइ छ ।मृतकका आफन्तले गाडी चालक गोर्खबहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन् । जुनीचाँदे–५ स्थित मटेलमा रहेको चालकको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसल जलाइदिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board