सांसदले दिए कैदीलाई खसी उपहार

ओखलढुङ्गा, २ कात्तिक । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिए । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका हुन् ।

विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताए । कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिए । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आएका छन् ।

खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताए । कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गरे । कारागारको समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिश गरिएको उनको भनाइ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board