विदेशमा थप एक नेपालीको मृत्यु

काठमाडौँ, ९ कात्तिक । विश्वव्यापी महामारी (कोभिड–१९) संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ।

एनआरएनए, स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ४२ देशमा रहेका नेपालीमध्ये ४२ हजार ७५२ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार १७९ जना अर्थात् ९२ प्रतिशत न कोरोनामुक्त भएको समितिले जनाएको छ ।

गत साता भारत, कतार र स्पेनमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म १९ देशका २८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको जानकारी एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले दिए ।

यस्तै नेपालमा मात्र एक लाख ५५ हजार २३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये एक लाख आठ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण एक हजार १२६ नेपालीले ज्यान गुमाएको जनाइएको छ ।

मास्कको प्रयोग गरौं
मास्कको प्रयोग गर्नाले सयौंँ मानिसको ज्यान जोगिने एनआरएन स्वास्थ्य समितिले जनाएको छ । मास्क प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्क प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

डा सापकोटाका अनुसार अमेरिका र युरोपका देशमा गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालेको छ । स्वास्थ्य समितिले सार्वजनिकस्थलमा निस्कँदा मानिसलाई सकेसम्म मास्क प्रयोग गर्न, हात धुन, मुख नछुन र नाक नकोट्याउन अनुरोध गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board