विज्ञहरूको सुझाव: जाडोयाममा कोरोना संक्रमण झनै बढ्न सक्छ, सावधानी अपनाऔं

काठमाडौँ, १३ कात्तिक । कोरोना भाईरस (कोभिड-१९) संक्रमण चिसो मौसममा झनै जोखिम बढ्ने विज्ञहरुले बताएका छन् । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरूको भनाई छ ।

चिकित्सकहरुका अनुसार कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहन्छ । जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने र एकै ठाउँमा धेरै जना बस्दा संक्रमण फैलिने सम्भावना बढी रहने विज्ञहरुले बताएका छन् । जाडोयाममा कोरोनासँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले मानसिमा कोरोना संक्रमणको त्रास पनि बढ्न सक्ने स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाई छ ।

‘जाडोयाममा दमको समस्यासमेत बढ्छ,’ उनले भने, ‘सकेसम्म इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) विरुद्को खोप लगाउनु फाइदाजनक हुन सक्छ ।’ ‘पुस–माघसम्म संक्रमणको विस्तार जारी नै रहने देखिन्छ । त्यो बेलासम्म कोभिडविरुद्घको खोप बजारमा आउन सक्छ । त्यसैले जोखिममा रहेकाहरूले केही समय अझ जोगिएर बस्नुपर्छ,’ डा. पाण्डेले भने ।

नेपालमा कोरोना संक्रमण अवस्था
उपत्यकामा जाडो मौसममा झनै कोरोना संक्रमणको जोखि बढ्ने भएकोले सावधानी अपनाउन विज्ञको सुझाव छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । काठमाडौंका ६९६ जना, ललितपुरका ११८ र भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमका अनुसार ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ। जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७०९ र होम आइसोलेशनमा ३१ हजार ९३४ रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा थप २ हजार ९८१ कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै, देशभर कोरोना जित्नेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । यस्तै, नेपालमा २४ घण्टाको अवधिमा कोरोना भाईरस संक्रमणका कारण थप ११ जनाको ज्यान गएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब दैनिक कोभिड-१९ प्रेस ब्रिफिङ नहुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोरोना भाईरस (कोभिड–१९) प्रेस ब्रिफिङ नगर्ने बताएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भने भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने बताए । गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board