पार्टी एकतालाई बचाउन फेरि एकपटक संवाद गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

काठमाडौं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई बचाउन फेरि दुई नेताबीच एकपटक संवाद गर्नुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले पार्टीलाई विभाजन हुनबाट रोक्न अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताएका हुन् ।

आफ्नै निवासमा सोमबार बिहान न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई संवादमार्फत अन्त्य गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएकोसमेत बताए । अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई पार्टीका कुनैपनि कमिटीको बैठक नमान्ने बताउँदै सल्लाह गरेरै अलगअलग हुन प्रस्ताव गरेको कुरासमेत साँचो रहेको श्रेष्ठको भनाई छ ।

नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्याय सहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाई छ । आइतबार अध्यक्ष दाहालले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनै पनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको बताए ।

उनले भने, ‘हामीले ठूलो मेहनेत गरेर पार्टी एकता गरेको हो । नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने, समाजिक आर्थिक रुपान्तरण गर्ने, समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने, समाजवादको अधार तयार पार्ने र अन्ततः समाजवादमा जाने उद्देश्यले पार्टी एकता गरिएको हो । त्यसैले ख्यालख्यालमै पार्टी फुटको दिशातिर जान हुन्न । हामीले पार्टी एकताको रक्षा गर्न पहल नै गर्नुपर्छ । प्रयत्न नै गर्नुपर्छ । खुला ढंगले छलफल गरौं र पार्टी एकताको निम्ति प्रयत्न जारी राखौं, पार्टी एकता कायम गर्नैपर्छ त्यसको निम्ति पहल गरौं भनेर हामीले भनेका हौं । त्यसपछाडि उहाँहरुको कुराकानी भएको स्थिति छैन ।’

गत शनिबार प्रचण्ड र केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो । उक्त कुराकानीबारे प्रचण्डले आफूनिकट सचिवालय सदस्यलाई प्रधानमन्त्ती ओलीले अब सँगै अगाडि बढ्न सकिँदैन भनेको ब्रिफिङ गरेका थिए । प्रचण्डसँगको एक भेटमा अर्का अध्यक्ष ओलीले पार्टी फुटाउन प्रस्ताव राखेको खबरले पार्टी एकतामा तरंग ल्याइदिएको छ ।

यो पनि पढ्नुहोस्

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board