बाँकेमा उपचाररत ३० संक्रमित सिकिस्त

राँझा, २० कात्तिक । कोरोना सङ्क्रमण भई बाँकेका दुई ठूला अस्पतालमा उपचाररत ३० बिरामी सिकिस्त अवस्थामा पुगेका छन् । भेरी अस्पताल, नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १०१ जना कोरोना सङ्क्रमितमध्ये ३० जना सिकिस्त रहेको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा १८ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ३० बिरामी सिकिस्त रहेका छन् । भेरीमा ३६ र कोहलपुरमा १४ गरी मध्यम खालका बिरामी ५० जना रहेका छन् । भेरीमा नौ र कोहलपुरमा १२ जना गरी अस्पतालमा २१ जना सामान्य बिरामी उपचाररत रहेका छन् । बाँके र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा भर्ना भएका सङ्क्रमितको दैनिकजसो मृत्यु भइरहेको छ ।

लक्षण देखिएका बिरामीलाई सामान्य, मध्यम र सिकिस्त तीन चरणमा विभाजन गरेर उपचार दिने गरिएको स्रोत व्यक्ति श्रेष्ठको भनाइ छ । कोरोना सङ्क्रमित सिकिस्त बिरामी जोखिममा रहने गर्दछन् । बाँकेका विभिन्न स्थानीय तहमा १९१ जना कोरोना सङ्क्रमित रहेका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ९३, कोहलपुर नगरपालिकामा ४१, खजुरा गाउँपालिकामा १०, बैजनाथ गाउँपालिकामा १४, जानकी गाउँपालिकामा १७ र राप्ती सोनारी गाउँपालिकामा ६ जना होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेमा हालसम्म कोरोनाका कारण १३ महिला र २१ पुरुष गरी ३४ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २८७ पुगेको छ भने दुई हजार ९७३ जना निको भई घर फर्किएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board