मुलुक गम्भीर मोडमा छ, पार्टी भित्रैबाट पनि सहयोग भएन, तर म पछि हट्दिनँ: प्रधानमन्त्री


काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागेर देशमा अस्थिरता निम्त्याउन खोजिएको बताएका छन् । बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै भने, ‘पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरियो, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिनँ’ ।

सरकारमाथि चौतर्फी हमला भइरहेको भन्दै सरकारलाई काम गर्न नदिएर मुलुक गम्भीर मोडमा पुगेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका छन् ।

ओलीको भनाई उदृत गर्दै एक मन्त्रीले भने, ‘पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ ।’

प्रधानमन्त्री ओलीले यसअघि हिजो बुधबार पनि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै आफ्नो राजीनामा मागिएको तर कुनै पनि परिस्थितिमा आफु राजीनामा नदिने बताएका थिए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु भने नभएको एक मन्त्रीको भनाई छ । ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board