सञ्चारमन्त्रीको मुहार चित्रबाट शुरु भयो ‘हन्ड्रेड आवर्स’

काठमाडौं, २३ कात्तिक । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरे । उनले मन्त्रीलाई सामुन्य बसाएर उहाँको मुहारलाई क्यान्भासमा रङ भरेका हुन् ।

उक्त समारोहमा मन्त्री गुरुङले भने “विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित कार्यक्रमले नेपालको कलासंस्कृतिलाई विश्वसामु पु¥याउने महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले कलासंस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने आश्वासनसमेत दिए । उनले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकामा धन्यवाद व्यक्त गरे

प्रतिष्ठानका प्राज्ञ लालकाजी लामाले उक्त कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै विश्वमा नेपालको पहिचान दिलाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ का कारण कलाकारलाई प्रविधिमा जान जोड दिएको र सोहीअनुसार कार्यशालालाई अघि बढाएको उनले बताए ।

विश्व अभिलेख राख्ने उद्देश्यले आयोजना गरिएको कार्यशाला मुलुकका लागि महत्वपूर्ण आयाम भएको कलाकारहरुले बताएका छन् । कोभिड–१९ सङ्क्रमण र यसले निम्त्याएको मानवीय समस्यालाई विश्व एक भएर लड्न आह्वान गर्दै यही २३–२७ गतेसम्म १०० घण्टासम्म कार्यशाला आयोजना गरिएको कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय जलरङ समाज आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए ।

समाजकै नेतृत्वमा शुरु भएको कार्यक्रम एक सय घण्टासम्म निरन्तर कलाकारका कुचीले जलरङका चित्र कोर्नेछन् । कार्यशालामा चित्र कोर्न ७३ जना कलाकार सहभागी छन् । एकजना कलाकारले दुई घण्टा चित्र सिर्जना गर्नेछन् । बीचमा आउनसक्ने अवरोधका लागि जगेडा कलाकारको व्यवस्थापन गर्न २३ कलाकार थप गरिएको छ ।

प्रदेश नं १ मा महेन्द्र राई, प्रदेश २ मा मुकेश महत्तो, वाग्मती प्रदेशमा प्रकाश थापा, गण्डकी प्रदेशमा मनोज तामाङ र लुम्बिनी प्रदेशमा सुमित्रा रानाले नेतृत्व गर्नेछिन् । ठाउँठाउँबाट कलाकारले समुहमा बसेर चित्र कोर्ने जनाइएको छ । कार्यशालामा बनेका कलाकृतिको प्रदर्शनी, सहभागी कलाकारको चिनारी पुस्तक प्रकाशन र भिडियो प्रदर्शनीसमेत गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board