होहल्ला गरी बैठक बिथोल्न खोजेको भन्दै नेकपा चितवनबाट छानबिन माग

चितवन, ७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।”

नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा केही नेताहरुले नाराबाजी गरेका थिए ।

यस्तै, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् ।

सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board