‘अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा’

काठमाडौँ, २१ मङ्सिर । अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको पाइएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ ।

अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महासङ्घ सहित संस्थाले आज भर्चुअलरुपमा आयोजना गरेको ‘अपाङ्गता भएका महिलामाथि निरन्तर भइरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमिका अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था’ विषयक बहसमा सो जानकारी दिइएको हो । कार्यक्रममा महासङ्घका महिला उपाध्यक्ष रमा ढकालले अध्ययनमा अन्य महिलाभन्दा १० गुणा बढी अपाङ्गता भएका महिला हिंसामा परेको पाइएको बताए ।

उनले गम्भीर शारीरिक अशक्तता भएका महिलालाई बलात्कारसमेत हुने गरेको पाइएकाले त्यस्ता घटना रोक्न र दोषीलाई कारवाही गर्न हस्तक्षेप गर्नुपर्ने जनाए । उपाध्यक्ष ढकालले अपाङ्गता भएका महिलालाई प्रजनन् स्वास्थ्यसम्बन्धी विषयमा पनि समाजमा अन्ध विश्वास र गलत सोचका आधारमा अवहेलना र गालीगलौज गरिने गरिएको गुनासो गरे । “अपाङ्गता भएका महिलालाई कसैले प्रेम र विवाह गर्दैनन् भन्ने सोच विकास गरिएको छ । यस्ता व्यक्तिमा यौन क्षमता कमजोर हुन्छ भन्ने गलत धारणा फैलाइएको छ”, उनले भने, “यो गलत सोच हो । यसलाई सामाजिक सचेतना तथा कानूनको पालनाबाट तोड्नुपर्छ ।”

राष्ट्रिय महिला आयोगका सचिव शान्ता अधिकारी भट्टराईले अपाङ्गता भएका महिलाको पीडाका अवस्थामा आयोगले मल्ममपट्टी लगाउन कोशिस गरिरहेको बताए । उनले लैङ्गीक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा पनि यस सवाललाई प्राथमिकता दिइएको जानकारी दिए । उनले उनले राज्यका सबै निकायका ३३ प्रतिशत महिलाको उपस्थिति नहुनु पनि सामाजिक न्याय स्थापनाका लागि चुनौतीको विषय हो भने ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता भएका सबै व्यक्तिको अधिकार स्थापना र महिला हिंसाको अन्त्यका लागि आफूहरुले वकालत गरिरहे पनि स्थितिमा अझै सुधार नआएको बताए । यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता ःअपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसङ्ख्या करिब पाँच लाख रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board