विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदै

काठमाडौं, २३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुने भएको छ । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका हुन् । आज दिउँसो १ः४५ मा नेपाल र चीन दुबै देशले एकैपटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसंग प्रस्ताव गरेको थियो ।

नेपालको प्रस्तावमा चिनियाँ पक्षले सहमति जनाएको मन्त्रालयले जनाएको छ । आज दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए । नेपालले पहिलोपटक आफ्नै स्रोत साधनको प्रयोग गरेर सगरमाथाको मापन गरेको हो । करिब २ वर्षअघि सरकारले सगरमाथाको मापन गर्न सुरु गरेको थियो ।

यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सचिवालयले गत असारमै रिपोर्ट तयार गरेर मन्त्रालयमा बुझाएको थियो । नेपालले पहिलोपटक ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो । यो प्रविधि सबैभन्दा अत्याधुनिक भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board