नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौँ, २८ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने एक स्रोतले बताएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका ओलीले योबीचमा गरेका सहमतिका प्रयास असफल भएका छन् ।

विधान विपरीतको प्रस्ताव ल्याएर प्रचण्डले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको प्रचण्डको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

यता बिहीबार प्रचण्डसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै प्रचण्डलाई सहमतिमा ल्याउने प्रयास जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन् । शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।

सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन । यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ । नेकपा महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा ओली सहभागी हुने बताएका छन् । पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् । निकटस्थहरूले पार्टी बहुमत—अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board