आज प्रमुख प्रतिपक्षी दल कांग्रेसले देश भर प्रदर्शन गर्दै

काठमाडौँ, २९ मंसिर ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ । मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ ।

कांग्रेस पार्टी कार्यालयका सूचना अधिकारी केशव रिजालका अनुसार सभापति शेरबहादुर देउवाले मकवानपुरको सभालाई सम्बोधन गर्दैछन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधि भक्तपुरमा, महामन्त्री डा।शशांक कोइराला मोरङमा, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, अर्जुननरसिंह केसी पोखरा, डा।रामशरण महतले चितवन र प्रकाशमान सिंहले धनुषामा आयोजित सभालाई सम्बोधन गर्ने रिजालले जानकारी दिए । अरू केन्द्रीय सदस्यहरू पनि विभिन्न जिल्लामा पुगेका छन् ।

देशभर भएका प्रदर्शनको केन्द्रीय कार्यालय सानेपाबाट मोनिटरिङ गर्ने जिम्मा महामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गलत मार्गमा हिँडेकाले देशभर आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।

सोमबार बिहानै ट्वीट गर्दै उनले प्रदर्शनमा भौतिक दूरी राख्न, मास्क अनिवार्य लगाउन पनि पार्टी सदस्य र शुभचिन्तकलाई आग्रह गरिएको जनाएका छन् ।

भ्रष्टाचार बढ्दा पनि प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक बनेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरिएको तथा निश्चित स्वार्थ समूहको हितमा मात्र सरकार केन्द्रित भएपछि आन्दोलनमा उत्रन परेको कांग्रेसले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board