नेकपाका दुवै पक्षले बोलाए आफू निकट सांसदहरुको बैठक

काठमाडौं, ६ पुस । पार्टी विभाजनको संघारमा पुगेको बेला नेकपाका दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग भेला बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन एसएमएस पठाएको एक स्रोतले जनायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग विघटन गर्ने र नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफू निकट सांसदहरुलाई ब्रिफिङ गर्न बैठक बोलाएको बुझिएको छ । ओली निकटका एक सांसदले भने, ‘संसद विघटन गर्नु बाध्यात्मक परिस्थिति थियो भनेर औचित्य पुष्टि गर्न हामीलाई बोलाइएको हुनसक्छ ।’

प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् । विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रचण्ड–माधव नेपाल पक्षले संकलन गरेको सांसदहरुको हस्ताक्षरलाई आधार मान्ने हो भने संसदीय दलमा ओली अल्पमतमा छन् । प्रचण्ड–नेपाल पक्षले करिब ९० सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए । यद्यपि ओली पक्षले त्यो हस्ताक्षर संकलन गत असारमै अर्कै प्रयोजनका लागि गरिएको दाबी गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board