बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक, गृहमन्त्री बादल अनुपस्थित

काठमाडौं, ६ पुष । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफु निकटका सांसादहरुसँग छलफल गरिरहेका छन् । संसद विघटन गरी आगामी बैशाखमा मध्यावधि निर्वाचन गर्ने निर्णयबारे ओलीले सांसदहरुलाई ब्रिफिङ गर्ने बताइएको छ ।

आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएर छलफल गरेका हुन् । उनीनिकट सांसदहरू बालुवाटारमा भेला भएका छन् ।

पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन् रामबहादुर थापा बादल भने गएका छैनन् । यस्तै ओली निकट मानिने सांसद कृष्णप्रसाद दाहाल पनि बालुवाटार बैठकमा अनुपस्थित भएका छन् । ओलीले बोलाएको भेलामा अत्यन्त थोरै मात्राका सांसदहरुमात्रै सहभागी भएको बताइएको छ ।

यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

यही बेला बालुवाटारमा ओलीले बोलाएको निर्वतमान सांसदहरुको भेलामा पनि बादल अनुपस्थिती भएका छन् । स्रोतका अनुसार बादल समूहको बैठक अहिले मन्त्री निवास पुल्चोकमा बसिरहेको छ । बैठकमा नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूको भेला दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा हुने बताईएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board