संसद विघटन प्रकरणः पूर्वराष्ट्रपति डा. यादवले भने- मर्माहित छु, सर्वोच्चको ध्यान पुगोस्

काठमाडौं, ६ पुष । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति जस्तो संस्थामाथि देशले प्रश्न उठाएको र आफु अत्यन्तै मर्माहत भएको बताएका छन् ।

नेपाली जनताले आर्शिवाद दिएर पुर्याएको संस्थाको विषयमा यसअघि कहिल्यै पनि टिप्पणी नगरेको बताउँदै पूर्वराष्ट्रपति डा. यादवले प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको सन्दर्भमा उनले ट्विट्रमा यस विषयमा ध्यान पुर्याउन सर्वोच्च अदालतलाई आग्रह समेत गरेका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले आफूलाई मर्माहित तुल्याएको उनको भनाई छ । अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

पूर्वराष्ट्रपति यादवले ट्विट्रमा भनेका छन्, ”राष्ट्रपति संस्थामाथि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन। आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छु। सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस् भन्ने विनम्र आग्रह पनि छ।”

यसअघि एक कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादाअनुसार काम गर्न नसकेको टिप्पणीसमेत गरेका थिए । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले भने, ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो। उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

संसद विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपति निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको उनको भनाई छ । उनले ‘नेपाली जनताले आशीर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन, आज अत्यन्त मर्माहित भएर यो कुरा भनिरहेको छु,’ यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहित भएका छन् ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board