संसद विघटन बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो – अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टीभित्र के भइरहेको छ, सबैसामु स्पष्ट नै छ । जसले जे दाबी गरे पनि आधिकारिक नेकपा हामी नै हौँ । केपी ओलीले नेतृत्व गरेको त गुट हो, पार्टी होइन । त्यो अवैधानिक छ ।

आजको हाम्रो बैठकमा रामबहादुर थापा ‘बादल’ र वामदेव गौतमलाई पनि बोलाएका थियौँ । वामदेवजीले तयारी नपुगेको जनाउनुभयो । बादललाई ल्याउन सकेनौँ । उहाँको कुरा अझै अस्पष्ट नै छ । तर, पम्फा भुसाल र सुरेश सुवेदी ‘पथिक’ हामीतिर आउनुभएको छ । उहाँहरू कमरेड बादलको साथमा हुनुहुन्थ्यो । र, यसरी हामीलाई विश्वास गरेर अरु कमरेडहरू पनि आउनुहुनेछ, यो संख्या बढ्दै जानेछ । किनकि, फेरि पनि हामी नै आधिकारिक नेकपा हौँ ।

कानुन र राजनीतिक रूपमा पनि हामी आधिकारिक छौँ । यो क्रान्तिको झण्डा बोक्ने र क्रान्ति छाड्नेहरूबीचको लडाइँ हो । पछिल्लो घटनाक्रमका पछाडि ठूलो ग्राण्ड डिजाइन छ ।

यो बाहिर देखिएजस्तो सामान्य घटनाक्रम होइन, यो ठूलो षड्यन्त्रको डिजाइन हो ।

२०१७ सालजस्तै वा त्यही प्रकृतिको षड्यन्त्रको नाटक मञ्चन हुँदै छ । प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष आवश्यक देखिएको छ । भू-राजनीतिक रूपमा नेपाल महत्त्वपूर्ण स्थानमा छ । कम्युनिस्ट आन्दोलनका उपलब्धि अपहरण गर्ने ग्राण्ड डिजाइनअन्तर्गत अहिलेको घटना भयो । ठूलो बेइमानी, जालझेल र षड्यन्त्र भएको छ । पाँच मिनेट कुर्नुस्, पार्टी बचाउने विकल्प लिएर आउँदै छु भन्दा पनि ओलीले संसद् विघटन गरे । त्यो कदम सामान्य छैन ।

फेरि जेल जान तयार हुनुपर्ने अवस्थामा हामी यो बैठक बस्दै छौँ । कमरेडहरूलाई कति डर लागेको छ, मलाई थाहा छैन तर हामी सबै अवस्थाका लागि तयार रहनुपर्छ । संविधान र लोकतन्त्रलाई अपहरण हुनबाट जोगाउनै पर्छ । एक पटक फेरि ठूलो योगदान र बलिदानका लागि तयार रहनुपर्छ ।कुनै पनि षड्यन्त्र हामीलाई मान्य छैन । कमरेडहरू, आवश्यक परे जुनसुकै बेला सडकमा आउनुपर्ने हुन सक्छ । हामी कोही अब पार्टीगत राजनीतिबाट टाढा जाने छैनौँ, युद्धमा जाने छैनौँ । हामी यही संसदीय राजनीतिमै छौँ ।

(बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरूलाई प्रचण्डले गरेको सम्बोधन )

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board