गण्डकी खोप अभियान : मुख्यमन्त्रीबाट कोरोना खोप शुभारम्भ

काठमाडौं १४ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप कार्यक्रम शुभारम्भ गरे । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप कार्यक्रम शुरु गर्नुभपछि गण्डकी प्रदेशमा मुुख्यमन्त्री गुरुङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट खोप कार्यक्रमको शुभारम्भ गरे ।

बिहान १०ः३० बजे मुख्यमन्त्रीले स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यलाई खोप सामग्री हस्तान्तरण गर्नुभएपछि प्रदेशका ११ वटै जिल्लामा खोप अभियान शुरुआत भएको घोषणा गरिएको थियो । सरकारले पहिलो चरणमा कोरोना खोप स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीलगायत कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिएकाहरुलाई लगाउने निर्णय गरेपछि गण्डकी प्रदेशमा पहिलो खोप पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रहेका फिजिसियन प्रा डा बुद्धिबहादुर थापालाई लगाइएको छ ।

खोप लिएपछि प्राध्यापक थापाले संसारलाई हायलकायल बनाएको कोरोनाविरुद्धको खोपको प्रतीक्षामा सबै स्वास्थ्यकर्मी रहेकामा महामारी शुरु भएको एक वर्षभित्रमा खोप प्राप्त भएपछि गण्डकी प्रदेशभर सकारात्मक सन्देश जाने विश्वास आफूले लिएको बताए । “भ्याक्सिन लगाएपछि केही अप्ठ्यारो अनुभव भएको छैन, कोभिड–१९ विरुद्धको अभियानमा सबैभन्दा अत्यावश्यक भ्याक्सिन पाएपछि हामी सबै स्वास्थ्यकर्मी उत्साहित भएका छौँ । सम्पूर्ण जनतालाई प्रेरणा दिनका लागि म आफँैले खोप लगाउन शुरुआत गरेको छु, सबै जनतालाई खोप प्रयोग गरिदिन आग्रह गर्दछु ।”

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कोरोना महामारीविरुद्ध शुरुआती शून्यताको अवस्थाबाट छोटो समयमा सुविधासम्पन्न प्रयोगशाला, स्वास्थ्य उपकरण तथा जनशक्तिका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल भएको बताए । महामारी शुरु भएको एक वर्षभन्दा कम अवधिमा भौतिक पूर्वाधार र स्वास्थ्य संरचनाको सृदृढीकरण, उपकरण व्यवस्थापन तथा ६८ स्थानमा प्रयोगशाला स्थापना भएर कोभिड–१९ विरुद्धको अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा खटिएर काम गर्नेहरुबाट ठूलो योगदान भएको उनले बताए ।

मुख्यमन्त्री गुरुङले भने “गण्डकी प्रदेशसहित नेपालभर कोरोना भ्याक्सिन शुुरुआत भएबाट कोभिड–१९ को विरुद्धको लडाइँमा ठूलो सफलता हासिल भएको छ, महामारी प्रारम्भ भएको एक वर्ष नपुग्दै खोपको अनुसन्धान तथा उत्पादन आउनुु विज्ञान प्रविधिका कारणले सम्भव भएको छ ।” गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गत वर्ष माघ १० गते नेपालमा पहिलो कोरोना सङ्क्रमण देखिएपछि प्रदेश सरकाले माघ १२ गतेदेखि कोरोनाविरुद्ध योजनाबद्ध कार्यक्रम शुरु गरेको जानकारी दिए ।

सङ्घीय शासन व्यवस्थाका कारणले महामारीविरुद्धको लडाइँ लड्न सफल भएको बताउँदै उनले अप्ठ्यारो अवस्थामा सरकारले सबैबाट सहयोगको साथ पाएको उल्लेख गरे । गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ११ वटै जिल्लामा खोप कार्यक्रम शुरु भएको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सङ्क्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप केन्द्र तोकिएको छ । प्रतिष्ठानका निर्देशक आचार्यले अस्पतालमा खोप लगाउने जनशक्ति अभाव नरहेको बताए उनका अनुसार प्रतिष्ठानमा दुई हजारजनाले पहिलो चरणको खोप लिनेछन् । कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १३९ मात्रा खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board