लोकतन्त्र कसैले खोस्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताए । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताए । उनले भने, “जनतालाई अहिले अस्थिरता होइन चुनाव चाहिएको छ । त्यसैले देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ कसको सरकार बन्नुपर्छ भनेर । ”उनले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नपाएमा प्रतिनिधिसभा विघटन गर्न अधिकार हुने बताए । “बेलायतमा लिखित संविधान छैन । प्रधानमन्त्रीले संसद् विघटन गर्ने कुरा लेखेको छैन तर अस्ति भर्खर संसद् विघटन गरेर चुनाव गराए”, उनले, भने,“यसरी प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ ।”

उनले सरकारलाई आफ्नै पार्टीका नेताबाट काम गर्न नदिइएकाले आफूले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु परेको स्पष्ट पारे । “उनीहरुले सरकार चलाउन दिएनन्, लोकतन्त्र र संसद्लाई ठीक ढङ्गले चल्न दिएनन्, संसद्लाई केही काम गर्न नदिने गरी पङ्गु बनाउन थाले प्रधानमन्त्रीले भने, “फेरि पहिलेको जस्तो किनबेचको राजनीति, पहिले जस्तो समीकरणको राजनीति, बहुमतको सरकार ढालेर जोडजामको राजनीति उनीहरुले खोजे । त्यसकारण मैले काम गर्न अवस्था नभएपछि नेपाली जनताका बीचमा ताजा जनादेशमा जानुपरेको हो ।” देशलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन आफूले लिएको अभियान असफल पार्न विभिन्न षड्यन्त्र गरिएको बताउँदै उनले अरुबाट मिचिएको मुलुकको भूमि समेटी नक्शा छापेर संविधान संशोधन भएपछि आफूलाई सरकारबाट हटाउन खोजिएको आरोप लगाए ।

अदालत र निर्वाचन आयोग स्वतन्त्र भएकाले तिनले विवेकसम्मत निर्णय गर्ने विश्वास व्यक्त गर्दै उहाँले ती निकायलाई नधम्काउन आग्रह गरे । “निर्वाचन गर्दा देश सङ्कटमा पर्छ रु जनताले सरकार छान्दा, जनताले आफैं फैसला गर्दा, त्यो फैसलाअनुसार अगाडि बढ्दा देश संकटमा पर्छ रु”, उनले प्रश्न गर्दै भने, “केही मान्छेहरूले कुनामा बसी षड्यन्त्र गरेर अरुका लागि काम गर्दा देश सङ्कटमा पर्ने हो ।”

लोकतन्त्र कसैले खोस्न सक्दैन’

उनले अब नेपाली जनताको चेतनाको स्तर बढेकाले कसैले पनि लोकतन्त्र खोस्न नसक्ने बताए । “कसैले कुनै हिसाबले लोकतन्त्रलाई केही गर्न सक्दैन । लोकतन्त्रको भविष्य सुदृढ र उज्ज्वल छ किनकि नेपाली जनता सचेत छन्”, उनले भने, “यहाँ कसैले पनि लोकतन्त्रलाई केही गर्छु भनेर नचिताए हुन्छ । लोकतन्त्रतर्फ कर्के आँखा नलगाए हुन्छ । प्रतिगमन नसोचे हुन्छ । यो देश अब अघि बढ्यो, बढ्यो ।” नेपाललाई समाजवादोन्मुख तथा सामाजिक न्यायसहितको समृद्धिको देश बनाउन कसैले रोक्न नसक्ने बताउँदै उनले निराश नभएर एकताबद्ध भई देश विकासमा लाग्यौँ भने कसैले पनि आफूहरुलाई रोक्न नसक्ने दृढता व्यक्त गरे ।

अहिलेको सरकारले जनताका लागि जसरी काम गरेको छ, त्यसरी इतिहासमा कुनै सरकारले काम गरेको छैन भन्दै उनले कोभिड– १९ को कारणले पछाडि परेको पर्यटन र उद्योग क्षेत्र अब चाँडै उठ्ने बताए । कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको बताउँदै प्रधानमन्त्रीले अहिले ८५ ठाउँबाट पिसिआर परीक्षण र यही माघ १४ गतेदेखि खोप दिन थालिएको जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board