नेकपाको प्रचण्ड – नेपाल समूहले आज टुँडिखेललाई मानव साङ्लोले घेर्दै

काठमाडौं,  ६ फागुन । नेकपाको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलन अन्तर्गत आज टुँडिखेललाई मानव साङ्लोले घेर्दैछ ।

प्रधानमन्त्री ओलीलाई सांकेतिकरूपमा दबाब दिन मानव साङ्लो बनाएर टुँडिखेल घेर्न लागिएको प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

अपराह्न ४ देखि ५ बजेसम्मको यो कार्यक्रममा १० हजार हाराहारी कार्यकर्ता सहभागी हुने भुसालले जानकारी दिए ।

‘सो समयमा हामीले अरू केही अवरोध गर्दैनौँ, धेरै मानिस एकसाथ जम्मा हुने भएकाले ट्राफिक जाम हुन सक्छ, त्यसको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ला,’ भुसालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड- नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।

यो समूहले बुधबार (५ फागुन) देखि २१ फागुनसम्म चौथो चरणका कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

यो समूहले गत माघ २८, माघ ९ र पुस १३ मा काठमाडौँमा प्रदर्शन गरेको थियो।

काठमाडौँबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board