नवलपरासीबाट काठमाडौँ आउँदै विप्लव, प्रधानमन्त्रीसँग एउटै मञ्चमा सम्बोधन गर्ने (फोटोफिचर )

नवलपरासी, २१ फागुन । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

सरकार र विप्लव समूहबीच तीन बुँदै सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै उनी काठमाडौँ आउन लागेका हुन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको सहमतिको विस्तृत विवरण आज हुने विशेष समारोहमा सार्वजनिक गरिने छ ।

समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विप्लवले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

आज दिउँसो २ बजे राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरिने छ ।

यसअघि हिजो साँझ नवलपरासी पूर्व बुलिङटारमा विप्लवलाई स्थानीयले स्वागत गरेका थिए ।

बिहीवार सरकारसँग भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागाइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् ।

यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board