बहुचर्चित मेलम्चीको पानी आज सुन्दरीजलमा झर्ने : प्रधानमन्त्रीले अवलोकन गर्ने


काठमाडौं, २२ फागुन । बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झर्ने भएको छ ।

परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

गएको फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किलोमिटर लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्याबारेमा सजगता अपनाइएको थियो ।

अहिले परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने खत्रीले बताउनुभयो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौंमा मेलम्चीको पानी उपलब्ध गराउने सरकारको योजना छ ।

सुरुवाती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी छाडिएको छ । गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो ।

गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच तथा मर्मत गरी अहिले पानी पठाइएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board