एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते

काठमाडौ, २८ फागुन । केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बस्ने तयारी नेकपा एमालेले गरेको छ । केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए । आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिने रिजालले बताए ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् ।

ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board