भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उनले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गरे । “एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन÷नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु”, उनले भने । “सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।”

पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहँु खोजिरहेको उनले बताए । पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राखे । “पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन”, उनले भने, “पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।”बुधबार र विहिबार काठमाडौमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछन् ।

एक थरी पार्टीका साथीहरुले चियापान नदेखेको भन्दै उनले भने “पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरु कस्को निमन्त्रणमा जानुहुन्छ त ?” उनले पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनु राम्रो लक्षण नभएको स्पष्ट पार्दै भोलिको भेला स्थगित गर्ने केही समय बाँकी रहेकोले स्थगन गर्न आग्रह गरे । “अझ केही समय वाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि हँुदैन उनीहरुले,” प्रधानमन्त्री ओलीले भने, “भोलिको भेलामा कति तमासा गर्नुहुन्छ । एक नजर त्यता राखिनेछ ।”

उनले कसैले पार्टीलाई धम्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो नसोच्न समेत आग्रह गरे । उनले सत्यसँग नलड्ने र निहुँ खोज्नेसँग नझुक्ने समेत स्पष्ट पारे । प्रधानमन्त्री ओलीले एमालेमा रहेका नेता तथा कार्यकतालाई अन्याय नगर्नेसमेत बतोए । “पार्टीमा कसैमाथि पनि अन्याय हँुदैन । ठूला ठूला अपराध भएका छन् तर पनि एउटा फराकिलो हृदय लिएका छौँ”, उनले भने, “एकदम अपराध गर्नेलाई पनि स्वागत छ भनेर म भन्दिनँ । तर सच्चिएर आउनेलाई पार्टीमा काम गर्नका लागि स्वीकार र्छौं ।”

उनले संसद् देश र जनताको हितमा काम गर्ने थलोका रुपमा भए पनि काम गर्न नपाएको धारणा राखे । “संसद्लाई स्वार्थको खिचातानीको थलो होइन, दलीय र गुटगतको थलो होइन, देश र जनताको हित तथा विकासको काम गर्ने थलो बनाऔँ”, उनले भने “तर संसद्लाई त्यसरी चलाइएको र चलाउन दिइएको छैन ।” चियापानमा एमालेका केन्द्रीय सदस्य तथा सांसद उपस्थित भएका थिए । चियापानमा वरिष्ठ नेता नेपाल पक्ष भने सहभागी भएन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board