भृकुटीमण्डपमा ढुंगेधारा : राष्ट्रपतिले आज मेलम्ची खानेपानीको उद्घाटन गर्ने

काठमाडौँ, २० चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्ने भएकी छिन् । काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा राष्ट्रपतिबाट उद्घाटनको कार्यक्रम राखिएको हो । ती धारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए ।

सर्वसाधारणलाई साक्षी राखेर मेलम्ची उद्घाटन गर्न लागिएको उनको भनाइ छ । यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम अगाडि सारिएको हो ।

काठमाडौं उपत्यका केही स्थानमा आइतबारदेखि नै मेलम्चीको पानी वितरण थालिसकिएको छ । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।

हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board