भारतमा एकैदिन झन्डै २ लाखमा कोरोना संक्रमण, अवस्था भयावह

नयां दिल्ली २ बैशाख । भारतमा कोरोनाभाइरसको संक्रमणमा दिनदिनै बढिरहेको छ। हरेक दिन संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ।

बुधबारमात्रै भारतमा एकैदिन झन्डै २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ। टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारतभरि १ लाख ९९ हजार ६ सय २० जनामा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म संसारमा एकैदिन दुई लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको मुलुक अमेरिकामात्र छ। अमेरिकामा गत जनवरी ८ मा एकैदिन ३ लाख ९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो।

भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको हो।

संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउने क्रम पनि बढेको छ। १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम थियो। बुधबार १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ। दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो।

संक्रमण तीव्र रूपमा फैलिए पनि भारतका विभिन्न राज्यमा सरकारले प्रतिबन्धहरू लगाएका छैनन्। उत्तराखण्डको हरिद्वारमा कुम्भ मेला चलिरहेको छ। उक्त मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उत्तराखंण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ।

भारतमा विशेषगरी महाराष्ट्र, कर्नाटका, राजस्थान, बिहार, उत्तर प्रदेश राज्यहरूमा संक्रमण दर निकै तीव्र छ।
भारतमा कोरोना संक्रमणका कारण शैक्षिक संसस्नाहरु बन्द भइरहेका छन् भने सार्वजनिक भिडभाडा हुने प्रदर्शन रोक्न भने सरकार असफल हुंदै आएको छ ।
एजेन्सीको सहयोगमा ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board