प्रधानमन्त्रीले सर्वदलीय बैठक मार्फत एमसीसीका लागि सहमति खोजे

काठमाडौं ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन सबै दलहरुको सहयोग मागेका छन् ।
शनिबार आफ्नै निवासमा बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौता रोकेको भन्दै सभामुख अग्नी सापकोटाप्रति आक्रोश व्यक्त गरे ।

बैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, एमसीसी पास गर्ने कि नगर्ने संसदलाई अधिकार छ । तर सभामुखले हुँदै नभएको तजबिजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन भन्नेमा सबै दलहरुको साझा धारणा रह्यो ।’

केही दलले एमसीसी सम्झौताको आलोचना गरेपनि संसदले विजनेस रोक्न नमिल्ने भनेको परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सभामुख र कार्यव्यस्थामा छलफल गरेर यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भन्ने भएको छ ।’

सरकारका कारण नभई संसदको नेतृत्वका कारण महत्वपूर्ण विषय अड्किएको प्रधानमन्त्री आराप छ । एसिड आक्रमण, कोेरोना खोपसम्बन्धी अध्यादेशलाई संविधानको प्रावधान विपरित पहिलो दिन प्रवेश नै गर्न नदिइएको भन्दै उनले भने, ‘सरकारका कारण होइन, संसदको नेतृत्वका कारण कतिपय विजनेस अड्किएका छन्, यसबारे एउटा समझदारी होस् भन्ने चाहेका छौं ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि एमसीसीलाई अघि बढाउने आफूहरु सकारात्मक रहेको भन्दै कार्यव्यवस्था परामर्श समितिमा बिजनेस लिएर प्रस्तुत हुन प्रधानमन्त्रीलाई सुझाव दिएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीलाई टेबल गर्छौ भनेर कार्यव्यवस्थामा प्रस्तुत हुन सुझाव दिएको बताए ।

छलफलका तीन एजेण्डा
सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन वटा एजेन्डामा छलफल भएको बताए। उनका अनुसार अमेरिकी सहयोग परियोजना (एमसीसी), सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र कोरोनाभाइरस (कोभिड–१९) बारे छलफल भएको हो।
सभामुख सापकोटाले अराजक र अनैतिक ढंगले एमसीसी रोकेर राखेको प्रधानमन्त्रीको गुनासो थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, “पारित गर्ने र नगर्ने संसदको कुरा हो, सभामुखलाई एमसीसी रोकेर राख्ने तजबिजी अधिकार छैन।”
एमसीसी संशोधन गरेर भए पनि पारित गर्नुपर्ने कांग्रेस नेता पौडेलको धारणा थियो। “सभामुखलाई बिजनेस दिने काम सरकारको हो, त्यसकारण कार्यव्यवस्था परामर्श समितिमा सरकारले एमसीसी प्रस्तुत गरोस्,” पौडेलले भने, “एमसीसी सम्झौता कांग्रेसकै पालामा भएको हो।”
कोभिड–१९ को विषयमा प्रधानमन्त्री ओलीले सुझाव मागेको र त्यसमा सबै दलले आ(आफ्नो धारणा राखेको बैठकमा सहभागी राप्रपा अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल समूह र जसपाको तर्फबाट पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता लक्ष्मणलाल कर्णलगायत सहभागी थिए।  जसपाका अध्यक्ष बाबुराम भट्टराई तथा उपेन्द्र यादव पनि सहभागी भएनन् । यस अघि नै माओवादी अध्यक्ष प्रचण्डले सर्वदलीय बैठक सिंहदरबारमा राख्नुपर्ने भनाई सर्वजनिक गरेका थिए ।
सत्तारुढ दलभित्र गत तीन वर्षदेखि नै एमसीसी सम्mझौता विवादमा पर्दै आएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board