आज धरहराको उद्घाटन, तत्काल अवलोकन गर्न भने नपाइने

काठमाडौँ, ११ बैशाख । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा आज शनिबार उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उद्घाटन गर्न लागेका हुन् । भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनेको छ । उद्घाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उद्घाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।उद्घाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

धरहरा उद्घाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतलासहित २३ तला हुनेछ । जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३ दशमलव ८५ मिटर छ । धरहराभित्र दुई लिफ्ट राखिएको छ । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने जनाइएको छ ।

पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २ दशमलव ५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । २२ औं तलामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।

नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने छ । धरहराको टावर नजिकै चार तले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय बनाउने काम भइरहेको छ । यस्तै धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ ।

वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा निमार्ण गरिएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board