एक मिनेटमा एक जनामा कोरोना संक्रमण : २ घण्टा १ जनाको मृत्यु

काठमाडौँ, १२ बैशाख ।  प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ । केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ । संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल भारतमा दैनिक३ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखिदै आएको छ । टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुन यो अवस्था कोरोना संक्रमणको अत्यन्त जोखिम अवस्था रहेको भन्दै आम व्यक्ति सचेत र चनाखो हुनुपर्नेमा जोड दिए । उनका अनुसार बिरामीमा सुधार हुने अनुपात पनि घट्दोक्रममा रहेको भन्दै कोरोना संक्रमण दिन दुई गुणा, रात चौगुनाको दरले बढ्दै गएको छ । जनस्वास्थ्य विज्ञले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । सही तरिकाले मास्क लगाउने, भौतिक दूरी कायम, भिडभाडमा नजाने, भिडभाडसहितको भोजभतेर नगर्ने, बन्द कोठामा बैठक वा भेटघाट नगर्ने तथा नियमित हातको सफाइ गर्ने बानी भए संक्रमण नसर्ने पुन बताउछन् ।

त्यस्तै, शनिबार देशभर २ हजार ६ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल, नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार ८ सय २८ पुगेको छ । देशभर शनिबार ३ सय ६८ संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ७६ हजार १ सय २३ संक्रमित निको भएका छन् । गएको २ गते पाँच सय ३४ जनामा कोरोना पुष्टि हुँदा पाँच जनाको मृत्यु भएको थियो। शनिबार दुई हजार ६ सय १९ जनामा पुष्टि हुँदा १४ जनाको मृत्यु भएको छ । गत वर्षको भन्दा यो वर्ष देखिएको संक्रमणले भयावहको रुप लिन सक्ने विज्ञले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा। शेर बहादुर पुनले अहिले कोरोना सुरुवाती चरणमा रहेको तर समयमै सावधानी नअपनाइए स्थिती भयाभह हुन सक्ने बताए । ‘मनिसमा डर कम छ तर कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ । संक्रमणको गति यसरी नै फैलिने हो भने स्थिती सम्हाल्नै नसकिने अवस्था आउन सक्ने डा। पुन बताउछन् । नेपालको पश्चिमी क्षेत्रमा बढी यूके भेरिएन्ट भाइरस फैलिएकोले अहिले सरकार र जनता दुवै सजग नभए मुलुकले नराम्रो नोक्सान व्यहोर्न सक्ने अवस्था आउने सक्ने सरुवा रोग विज्ञहरुले दावी गरेका छन् । केही समय संक्रमणको दर कम हुँदा नेपालमा कोरोना हटेको जस्तो सरकारले सोचेकाले पुनः संक्रमण फैलिएको डाक्टर पुनको दावी रहेको छ ।

देशभर १ सय ९० जना आईसीयू र ६९ जना संक्रमित भेन्टिलेटरमा छन् । १ हजार १ सय ८० आईसीयू र ५ सय १२ वटा भेन्टिलेटरमात्रै उपलब्ध रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामी राख्ने ठाउँ न्यून छ । नेपालगन्जस्थित भेरी अस्पतालमा १ सय ४२ बेड कोभिड–१९ का बिरामीका लागि छुट्याइएको छ । हाल सबै बेड भरिइसकेका छन् ।

अस्पतालका प्रमुख डा। प्रकाश थापाले १ सय ६३ जना उपचाररत रहेको बताउछन् । १ सय ४२ बेडको आइसोलेसन वार्ड पनि बिरामीले भरिको छ । ४० वटै आईसीयू बेड र भेन्टिलेटर पनि खाली छैन । अक्सिजन चाहिने बिरामीलाई उपचारका लागि अन्य अस्पतालसँग समन्वय गरिरहेको डा। थापाले जानकारी दिए । यस्तै, अस्पतालमा १५ वटा भेन्टिलेटर रहेकामा ६ वटामा बिरामी भर्ना छन ।

बाँकेमा हरेक दिन ३ सयदेखि ४ सय बिरामी थपिइरहेकाले अवस्था नियन्त्रण बाहिर गइरहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा पनि बेडको अभाव देखिन थालेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत ५० शय्याको कोरोना अस्पतालमा बिहीबार ३७ जना संक्रमित उपचाररत रहेकामा अधिकांशको अवस्था जटिल रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठ बताउछन् । कोरोना संक्रमितको संख्या दैनिक २ हजार ६ सयभन्दा बढी हुन थालेपछि भने मन्त्रालयले एचडीयूको प्रगति संकलन थालेको छ । मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकासहित सातै प्रदेशमा ५ सय ९ वटामात्रै एचडीयू बनेका छन् । प्रदेश १ मा १ सय ३१, प्रदेश २ मा ५४, वाग्मती प्रदेशमा १ सय ८६, गण्डकीमा २५, लुम्बिनीमा ९२, सुदूरपश्चिममा २१ वटा एचडीयू बनेको पाइएको हो । हरेक प्रदेशमा कम्तीमा २ सय बेडको एचडीयू बनाउने गरी मन्त्रालयले अस्पतालसमेत घोषणा गरेको थियो । उपत्यकाबाहिरका २१ अस्पतालमा २५÷२५ बेडको एचडीयू हुने मन्त्रालयले घोषणा गरेको थियो । २५ बेडको एचडीयू संरचनाका लागि ३ करोड १२ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरेर बजेट उपलब्ध गराउने मन्त्रालयले निर्णय गरेको थियो । संक्रमितको संख्या बढेपछि तत्काल एचडीयू व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो । पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ । वैशाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन । वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ । बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन । गृह मन्त्रालयले पनि जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई यसअघिकै आदेश पालनामा कडाइ गर्नेबाहेक महामारीविरुद्ध थप सक्रियता देखाएको छैन । संक्रमण विस्तार हुन थालेपछि जनस्तरबाटै लकडाउन र सीमानाका सिल गर्नुपर्ने विषय उठेका छन् ।

भारतबाट स्वदेश फर्कन चाहेका नेपालीलाई निर्बाध प्रवेश दिएर होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राख्नुपर्छ, परीक्षणमा संक्रमित देखिए अस्पताल वा तोकिएका आइसोलेसनमा पठाई सरकारले उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ । भारतीयलाई नेपालबाट तेस्रो मुलुक जान सहज गरिदिएकोमा पनि कोरोना संक्रमण फैलिनु मुख्य कारण रहेको छ । कोभिड–संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० का प्रतिनिधिसँग शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे ब्रिफिङ लिएका थिए । तर, संक्रमणविरुद्ध आगामी कदम कस्तो चाल्ने भन्नेमा ठोस निर्णय भएन । वैशाख ५ को मन्त्रिपरिषद् बैठकले संक्रमण रोकथाम र नियन्त्रण गर्न वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द, २५ जनाभन्दा बढी भेला हुन रोकलगायतका ३० बुँदे आदेश जारी गरे पनि सीमाबाट हुने आवागमन नियन्त्रण फितलो छ । पछिल्लो एक सातामा भारतबाट नेपाल आउनेको संख्या औपचारिक नाकाबाट ७० हजारभन्दा बढी छ । त्यसमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट करिब ३२ हजार मानिस नेपाल भित्रिएका छन् ।

तर, भित्रिएकाको सामान्य ज्वरो नाप्ने र अभिलेख राख्नेबाहेक अरू हुन सकेको छैन । चारवटै सुरक्षा निकायले मानवीय संवेदनासँग जोडिएका कामबाहेकमा भारतीय नागरिकलाई निषेध गर्ने र नेपालीको हकमा सीमानाका नजिकै पर्याप्त होल्डिङ सेन्टर बनाएर त्यही पीसीआर÷एन्टिजेन परीक्षणको व्यवस्था र संक्रमितलाई आइसोलेसनमा पठाउनुपर्ने सुझाव सरकारलाई दिए पनि कार्यान्वयन हुन सकेको छैन । नेपाली सेनाले महामारी रोकथाम र नियन्त्रण गर्न तत्काल भारतीय नागरिकलाई सीमाबाट प्रवेश निषेध, लामो दूरीका सवारी सञ्चालनमा रोक र जिल्लाको वस्तुस्थितिअनुसार निषेधाज्ञा र एरिया सिल गर्नुपर्ने सुझाव दिएको छ । यस्तै भारतबाट भित्रिने नेपालीको हकमा सीमामै होल्डिङ सेन्टरमा राखेर पीसीआर÷एन्टिजेन परीक्षण गरी शंकास्पद र संक्रमितलाई अस्पताल, आइसोलेसन अनि अरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाएर पठाउनुपर्ने सुझाव कोभिड–संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० मार्फत दिए पनि त्यसअनुसार सरकारले प्रतिकार्य योजना ल्याएको छैन ।

सरकारले महामारीको हटस्पटबाट आएका भारतीयलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) बिनै तेस्रो मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न अनुमति दिएपछि जोखिम झन् बढेको छ । महामारी तीव्र गतिमा फैलिएपछि भारतलाई अमेरिका, बेलायत, साउदी अरब, न्युजिल्यान्ड, यूएई, जापान, हङकङ, फ्रान्स, अस्ट्रेलिया, सिंगापुर, इन्डोनेसिया, ओमान, क्यानडालगायत मुलुकले ‘रेडजोन’ मा राखेपछि भारतीय नागरिक नेपाल हुँदै तेस्रो मुलुक जान थालेका छन् । अहिलेसम्म नेपालबाट यी मुलुकका लागि हुने आवागमन सहज छ । भारतबाट नेपाल हुँदै गएका मानिसमा संक्रमण देखिएमा ती मुलुकले पनि नेपाललाई रेडजोनमा राख्न सक्ने खतरा छ । भारतको ‘इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (कानपुर) ले गरेको एउटा प्रक्षेपणमा वैशाख अन्तिम साता भारतमा महामारीको असर अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने उल्लेख छ ।

त्यसको असर नेपालमा पनि पर्न सक्छ । केही नाकाबाट नेपालीलाई पारिपट्टि जान कडाइ गरिए पनि त्यो अभ्यास अरू नाकामा लागू भएको छैन । बरु पारिबाट नेपाल आउनेको संख्या दैनिक बढ्दो छ । प्रदेश १, २, लुम्बिनी र सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार औपचारिक नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेको संख्या दैनिक १० हजारको हाराहारीमा छ । यो संख्याभन्दा लुकीछिपी भित्रिने दसौं गुणा बढी हुने अनुमान छ । नेपाल–भारत करिब १ हजार ८ सय ८० किमिको खुला सिमाना छ । त्यसमध्ये अहिले ३५ नाकाबाट मात्रै औपचारिक आवागमन अनुमति दिइए पनि अन्य नाकामा उपस्थिति कमजोर हुँदा लुकीछिपी आउनेबाट संक्रमण सर्ने जोखिम थप छ ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै  सरकार

कोरोना तिव्ररुपमा फैलिएपनि सरकारका मान्छे स्वास्थ्य मापदण्डको उल्लघंन गर्दै हिडेका छन् । हिजोमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन्। हाल देशभर कोभिड १९ संक्रमण बढ्दै गएको र काठमाडौं उपत्यकामा कोरोना संक्रमितको दर बढ्दै जाँदा सरकारले नै २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको थियो। तर, सरकारी पक्षबाट नै आफ्नो निर्देशनको पालना गरिएन। सयौं मानिसको उपस्थितिमा धरहरा उभिएकोमा गर्व भएको भन्दै प्रधानमन्त्रीले भनिरहँदा कोरोना संक्रमणका लागि स्वास्थ्य मापदण्ड उल्लंघन भयो।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आवश्यकता अनुसार कार्यक्रम व्यवस्थित र मापदण्ड भित्र रहेर गर्न सक्ने थियो। तर प्रधानमन्त्रीको धेरै चासो रहेको नयाँ धरहराको सबै निर्माण प्रक्रिया नसकिँदै उद्घाटनको हताारोमा त्यसो सम्भव भएको देखिएन। कार्यक्रमस्थल भित्र भिड त थियो नै कार्यक्रमस्थल बाहिर पनि उद्घाटन हेर्नेको उत्तिकै घुइँचो थियो। सबैलाई मास्क अनिवार्य लगाउन भनिएपनि भौतिक दूरीको पालना भएन। यसअघि पनि प्रधानमन्त्री कार्याल बालुवाटारबाटै स्वास्थ्य मापदण्ड उल्लंघन भएको भन्दै आलोचना समेत भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board