मे दिवसको अवसरमा कोरोनाको मारमा परेका श्रमिकको व्यवस्थापन गर्न प्रचण्डको आग्रह

काठमाडौं १८ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गर्नुभएको छ ।

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गर्नुभएको छ ।
महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुस्वास्थ्य र दीर्घायूको कामना गर्नुभएको छ ।

श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार रहेको तथा श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव नहुने भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिए पनि श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको बताउनुभएको छ ।

अध्यक्ष प्रचण्डले पश्चगामी र परिवर्तन विरोधी तत्व श्रमजीवि जनताका अधिकार खोस्न उद्त देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकताबद्ध भएर प्रतिवाद गर्न श्रमिक वर्गमा अपिल गर्नुभएको छ ।

वक्तव्यको पूर्ण पाठ यस्तो छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी श्रमजीवि जनसमुदायमा सु–स्वास्थ्य र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ । नेपालमा वि.स. २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि मजदूर किसान जनसमुदायको बलिदानीपूर्ण संघर्षका कारण नै हामी समाजवादी लक्ष्य तर्फ लामवद्ध हुन आइपुगेका हौं ।

श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो । तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धीको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु । साथै सबै राजनीतिक कायकर्ता र समाजसेवीहरुमा पनि खुला हृदयले समस्यामा परेका रोजगार विहिन ती श्रमिकहरुका लागि सहयोगी हात बढाउन अपिल गर्दछु । श्रमिक दिवसको अवसरमा यस महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछु ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board