काठमाडौँ, २३ बैशाख । भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्वमा थपिएका सङ्क्रमितमध्ये आधाभन्दा बढी भारतका हुने गरेका छन् । पछिल्लो २४ घण्टाभित्र चार लाख १२ हजार छ सय १८ जना नयाँ बिरामी थपिए । अहिलेसम्म भारतमा एकै दिन यति धेरै सङ्क्रमित फेला परेका थिएनन् । कोरोनाले भारतको अवस्था कहालीलाग्दो बनाएको छ । कठिन परिस्थितिसँग संघर्षरत रहेको भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई करोड १० लाख ७० हजार आठ सय ५२ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ७२ लाख ६९ हजार ७६ जनाको उपचार सफल भएको छ ।
३५ लाख ७१ हजार छ सय २५ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । स्वास्थ्य अवस्था निक्कै गम्भीर भएकामध्ये दैनिक झन्डै आधा बिरामीको मृत्यु हुने गरेको छ । भारतमा एकै दिन तीन हजार नौ सय ८२ जनाको मृत्यु भयो ।
अहिलेसम्म २४ घण्टाभित्र यति धेरै सङ्क्रमितको मृत्यु भएको भारतमा पहिलो पटक हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अहिलेसम्म दुई लाख ३० हजार एक सय ५१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
सङ्क्रमण पुष्टि भएको सङ्ख्याका आधारमा कोरोनाबाट विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ४२ हजार तीन सय २२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३३ लाख १७ हजार चार सय ३७ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६० लाख १६ हजार नौ सय ८९ जना उपचारपछि निको भएका छन् ।
६७ लाख सात हजार तीन सय २४ जनाको उपचार जारी छ । उपचाररतमध्ये नौ हजार चार सय ११ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय १८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ९३ हजार एक सय २४ पुगेको छ ।
कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा एकै दिन ७५ हजार छ सय ५२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४९ लाख ३६ हजार चार सय ६४ पुगेको छ । एक करोड ३५ लाख २९ हजार पाँच सय ७२ जना उपचारपछि निको भएका छन् ।
नौ लाख ९२ हजार दुई सय ४७ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टाभित्र ब्राजिलमा दुई हजार सात सय ९१ जनाको मृत्यु भयो । भारतपछि दैनिक मृत्यु हुने सङ्ख्या ब्राजिलमा धेरै छ । अहिलेसम्म कोरोनाका कारण चार लाख १४ हजार छ सय ४५ पुगेको छ ।
विश्वमा एकै दिन आठ लाख २५ हजार पाँच सय ९४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड ५८ लाख चार हजार चार सय ८० पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड ३९ लाख ४७ हजार आठ सय तीन जना उपचारपछि निको भएका छन् ।
एक करोड ८६ लाख एक हजार आठ सय ९३ जनाको उपचार जारी रहेकोमा एक लाख १० हजार तीन सय तीन जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्रमा विश्वभर १४ हजार ६२ सङ्क्रमितको मृत्यु भयो । हालसम्म ३२ लाख ५४ हजार सात सय ८४ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।
COMMENTS