कोरोनाविरुद्धको खोप छिटो उपलब्ध गराइदिन राष्ट्रसंघलाई नेपालको आग्रह

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धको खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गरेका छन् । नेपालस्थित राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग आज भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाइने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरे ।

‘भाइरसको फैलावट रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्र संघको सहजीकरणको अपेक्षा गरेको छ ’, उपप्रधानमन्त्री पोखरेलले आग्रह गरे, ‘यसका साथै भेन्लिटेलर, पिपिई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायत विषयमा नेपाल सहयोग चाहन्छ ।’

नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले भने, ‘कोरोनाविरुद्धको खोप विश्वकै नागरिकको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गछौं । खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नुहुँदैन ।’जवाफमा संयोजक न्यान्तीले आफ्नातर्फबाट खोप ल्याउन सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए । उनले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गरेको उपप्रधानमन्त्रीका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए ।

कोभ्याक्सअन्तर्गत नेपालले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार मात्र मात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरीद गरेको २० लाखमध्ये १० लाख मात्रा नेपाल आइसकेको तथा बाँकी १० लाख मात्र अझै आउन बाँकी छ । यसैगरी भारत सरकारबाट १० लाख, भारतीय सेनामार्फत नेपाली सेनालाई एक लाख र चीनबाट आठ लाख मात्रा खोप नेपालले प्राप्त गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board