संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री ओली पदमुक्त

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी हुन् ।

मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो ।

आजको अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्ष मण्डल बनाएर सभामुखले १५ मिनेट बैठक स्थगित गरे ।

अर्को चरणको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरे। प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गरे भने त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राखे ।

सांसदहरुको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएसँगै मतदान अर्थात मत विभाजन सुरु भएको थियो । मत विभाजनका क्रममा हुन्छ, हुन्न र मत दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board