संसद विघटा विरुद्ध विपक्षी गठबन्धन राजनीतिक र कानुनी संघर्षमा उत्रने घोषणा

काठमाडौं जेठ ८ । पांच विपक्षी राजनीतिक दलको गठबन्धनले संसद विघटन असंवैधानिक र प्रतिगामी भएको भन्दै संघर्षमा उत्रने चेतावनी दिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षरसहित आफूहरुले पेश गरेको दाबीमाथि संविधानतः निर्णय गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरेको भन्दै पांच दलले आक्रोश व्यक्त गरेका छन् ।

शनिबार बानेश्वरमा बसेको विपक्षी गठबन्धनका नेताहरुको बैठकले संसद विघटन संविधान र लोकतन्त्रमाथि नै प्रहार भएको भन्दै यो घटनालाई प्रतिगमन–२ को संज्ञा दिएका छन् । बैठकपछि जारी वक्तव्यमा भनिएको छ । ‘यस प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको छ ।’

निर्वाचन नगराइ आफ्नो निरंकुश सत्ता लब्याउने दूराशयबाट मध्यावधि घोषणा गरेको विपक्षी गठबन्धनको निष्कर्ष छ । वक्तव्यमा थप भनिएको छ–‘यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको छ ।’

विपक्षी गठबन्धनले असंवैधानिक कदमको राजनीतिक र कानूनी रुपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीमा देउवाको दाबीमा साथ दिने १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । ‘हिजो संसद विघटन प्रगिमनकारी कदम हो भनेर सडकबाट राम्रैसँग प्रतिवाद भयो र अदालतले पुनस्र्थापना पनि गर्‍यो । हामीलाई विश्वास छ, बहुमत सांसदको हस्ताक्षरसहित गइसकेपछि अदालतले अन्ततः फेरि लोकतन्त्रको पक्षमा फैसला गर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board