खोप सहायतामा नेपाललाई प्राथमिता दिन अमेरिकासँग अनुरोध

काठमाडौं, १० जेठ ।  सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् ।

मन्त्रीद्वयबीच आज भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्रीले विकासोन्मुख देशहरुलाई अमेरिकाले बचत भएका खोप वितरण गर्दा नेपाललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपविदेशमन्त्री शेर्मनले हालैको महामारीसहित नेपालको सामाजिक–आर्थिक क्षेत्रमा नयाँ अमेरिकी सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिँदै दशकौँ पुरानो अमेरिका–नेपाल मैत्रीको तारिफ गरे । प्रक्रियामा रहेका अमेरिकी सहायताअन्तर्गतका महत्वपूर्ण परियोजनाबाट नेपालको समृद्धिका थप द्वारहरु खोल्ने विश्वास पनि उनले व्यक्त गरे । उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षका साथै कोभिड –१९ को महामारीको सन्दर्भमा सहयोग र अन्तर्राष्टिय चासोका साझा विषयमा विचारमिवर्श भएको थियो ।

“द्विपक्षीय सम्बन्धका समग्रस्थितिप्रति सन्तुष्टि जनाउँदै दुवै पक्ष पारस्परिक हितका खातिर द्विपक्षीय एवं बहुपक्षीय सहकार्यलाई अघि बढाउन सहमत भएका छन्”, मन्त्रालयले जारी गरेकोे विज्ञप्तिमा भनिएको छ ।

मन्त्री ज्ञवालीले महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगबाट त्यसलाई सम्बोधन गर्न नेपालको राष्ट्रिय क्षमता वृद्धिमा सघाउ पुगको बताउँदै नेपाल सरकारका तर्फबाट कृतज्ञता ज्ञापन गरे । आगामी असोजमा नेपालले आयोजना गर्ने योजना बनाएको सगरमाथा संवादका सन्दर्भमा दुवै पक्षले जलवायु परिवर्तनका प्रभाव कम गर्ने प्रतिबद्धता व्यक्त गरे । कोभिडपछि महामारीअघिको अवस्थामा फर्कने कठिन कार्यलाई मूर्तरुप दिन आर्थिक साझेदारीको गति बढाउन दुवै पक्षले वार्ताका क्रममा सहमति जनाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board