एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक : सरकारको समर्थन फिर्ता नलिने निर्णय

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

कोभिड–१९ महामारी लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिए । नेकपा एमाले को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो निर्णयपछि सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीलाई चुनौती दिंदै समर्थन फिर्ता नलिने निर्णय गरेपछि माओवादी नेतृत्वको सुदूरपश्चिम सरकारको संकट टरेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद छन् । बुधबारको बैठकमा २१ जना सहभागी थिए । सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छन् । सबभन्दा ठूलो दल एमालेका २५, नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी ९जसपा०का २ जना प्रदेशसभा सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको भागबण्डाका आधारमा माओवादीका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले सोमबार मात्र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीहरुलाई राजीनामा दिन भनेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board