सुदूरपश्चिम : ५ मन्त्री र ४ राज्यमन्त्री नियुक्त, तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी एमालेबाट निष्कासन


काठमाडौं, १४ जेठ।  अन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ ।सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन्।लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन्।एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिएका हुन् ।लगत्तै एमालेबाट चार र माओवादी केन्द्रबाट एक मन्त्री नियुक्त भएका छन् । मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् ।यसअघि उनले सम्हालेको आन्तरिक मामिलामा पूर्णा जोशी आएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

त्यस्तै चुनदेवी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन् ।

यतानेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा छुटेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board