राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारको दुष्परिणाम हामीले भोगिरहेका छौं : देउवा

काठमाडौँ, १५ जेठ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको गलत संस्कार र व्यवहारका कारण देशले दुष्परिणाम भोग्नु परेको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देउवाले कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्वकर्ताको संस्कार र व्यवहारमा निर्भर रहने बताउँदै अहिले राष्ट्रपति र प्रधानमन्त्रीको संस्कार र व्यवहार गलत भएकाले देशले दुष्परिणाम भोग्नुपरेको आरोप लगाएका छन्। यस चुनौती पार गरेर अघि बढ्न अपिलसमेत गरेका छन्।

कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ। लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ‚देउवाले भनेका छन्‚ देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं।

सभापति देउवाले कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको बेला सरकार जनताको जीवनप्रति उदासिन र संवेदनहीन देखिएको आरोप लगाएका छन्। यस स्थितिमा संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न उनले आग्रह गरेका छन्।

गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको देउवाको भनाइ छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board