प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुरुवाती बहस आज सकिने

काठमाडौं, ११ असार। प्रतिनिधिसभा विघटन सम्बन्धी परेका रिट निवेदनको पक्ष र विपक्षी दुवैतर्फका कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस नोट बुझाएका छन् ।निवेदकको तर्फबाट ३६ जना वरिष्ठ अधिवक्तासहित दुई सय ६२ जनाले बहस नोट पेस गरेका छन् । रिट निवेदकको तर्फबाट बहस नोट बुझाएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आग्रहबाट प्रेरित भएर प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका छन् । त्यस्तै, निवेदकको विपक्षी एवम् सरकार पक्षले पनि बहस नोट बुझाएका छन् । उनीहरुले राष्ट्रपतिको निर्णयमाथि न्यायालयमा प्रश्न उठाउन नमिल्ने जिकिर गरेका छन् ।

यसैबीच, रिट निवेदक पक्षले सुरुवाती बहस गर्ने समय आज सकिँदै छ । संवैधानिक इजलासले निवेदक पक्षलाई अब बहसका लागि ४ घण्टा ४५ मिनेट समय बाँकी रहेको जानकारी गराएको छ । इजलासको आदेश अनुसार निवेदक तर्फका कानुन व्यवसायीलाई आज ३ देखि ३० मिनेटसम्मको समय तोकिएको छ । आज रिट निवेदक पक्षबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र सतिकृष्ण खरेललाई ३०/३० मिनेटको समय दिइँदै छ । यस्तै पूर्व महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले २५ मिनेट, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर र अधिवक्ता डा.भीमार्जुन आचार्यले २०/२० मिनेट बहस गर्दैछन् ।

अधिवक्ता टिकाराम भट्टराईलाई बहसका लागि १५ मिनेट छुट्याइएको छ । अरु कानुन व्यवसायीहरुलाई न्यूनतम ३ देखि १० मिनेटसम्मको समय तोकिएको छ । अस्ति बुधबारदेखि सुरु भएको बहसमा निवेदकको तर्फबाट हिजोसम्म १४ कानुन व्यवसायीले बहस गरिसकेका छन् । आज रिट निवेदकको तर्फबाट कानुन व्यवसायीहरुको सुरुवाती बहस सकिएपछि आइतबारदेखि रिट निवेदनको विपक्ष अर्थात सरकारी पक्षको बहस सुरु हुनेछ । सरकारी पक्षलाई बहसका लागि १५ घण्टा समय दिइएको छ । विपक्षी अर्थात सरकारी पक्षको सुरुवाती बहस सकिएपछि रिट निवेदक पक्षले जवाफी बहसका लागि छुट्टै ३ घण्टाको समय तय गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board