संविधान र गणतन्त्र सिध्याउने ओली प्रवृतिका विरुद्ध लड्नु पर्ने बेला आएको छ : प्रचण्ड (भिडियो)

हामी ओली प्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं : नेपाल

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको लडाइँ प्रतिगमन, संविधान विरोधी हर्कत र ओली प्रवृत्तिविरुद्ध केन्द्रित रहेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तक्रियामा प्रचण्डले ओलीले प्रतिनिधित्व गर्ने र विपक्षी पाँच दलले प्रतिनिधित्व गर्ने प्रवृत्ति र समग्र राजनीतिक धार नै फरक रहेको बताए । तत्कालका लागि ओली प्रवृत्ति परास्त गर्न नै विपक्षी गठबन्धन बनेको उलने व्याख्या गरे ।

अन्तरक्रिया कार्यक्रममा बायांबाट क्रमश माधव कुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव । फोट एबीसी न्युज टिभी ।

नागरिक समाजले पाँच दलका नेतामा पनि ओलीप्रवृत्ति देखिएको प्रश्न गरेपछि प्रचण्डले भने, ‘केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका पाँच पार्टीले प्रतिनिधित्व गर्ने राजनीतिक धार एउटै हैन । किनभने गणतन्त्रको निम्ति आन्दोलन गर्ने बेला पनि केपीजी कहाँ हुनुहुन्थ्यो, हामी पाँच कहाँनेर थियौं भनेर मात्रै स्मरण गरियो भने ओली र हाम्रो बीचको फरक स्पष्ट हुन्छ । गणतन्त्र, संविधान, शान्तिसम्झौताका निम्ति बल गर्ने पक्षधर शक्ति हामीसँग छ भने अर्को प्रवृत्ति यी सबै प्रक्रियाको विरोधी र बेठिक छ भन्ने प्रवृत्तिको नायक ओली हुन् ।’

अन्तरक्रियामा प्रचण्डले आफ्नै बारेमा आएका प्रतिक्रियाका बारेमा बोल्दै भने ‘मलाई अस्थिर कसले बनायो ? म युद्धबाट शान्तिमा आएँ, शान्तिबाट संविधानसभा, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेँ । सुरुमा एमालेसँग मिलेर सरकार बनाएँ । सबैभन्दा ठूलो पार्टीको नेतृत्व गर्ने हैसियत बनाएं । सैनिक सर्वोच्चता कि नागरिक सर्वोच्चता भन्नेमा मेरो लडाइँ पर्‍यो । म नागरिक सर्वोच्चताको पक्षमा लड्न तयार भएं । मैले सजिलै कुर्सी छोडिदिएँ । यो सबै हेर्दै जाँदा म युद्धमा थिएँ, ठिकै थिएँ । म शान्तिमा आउनु गल्ती भएको हो ? संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गराउनु गल्ती भएको हो ? तपाइँहरुले सोचिदिनुस् मेरो अनुरोध छ । किन यस्तो भयो ।’प्रचण्डले नागरिक अगुवाहरुसंग प्रश्न गरे ।

अन्तरक्रिया कार्यक्रममा ५ विपक्षी गठवन्धनका शिर्ष नेता र नागरिक समाजका अगुवाहरु ।
https://www.facebook.com/bishnu.jugal/posts/1904671339708720

हामी ओली प्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं : नेता नेपाल

अन्तरक्रियामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको संविधान, लोकतन्त्र र गणतन्त्र संकटमा परेको बताएका छन् । नेता नेपालले यो संकटलाई सबै मिलेर समाधान गर्नु पर्ने बताए ।

‘हाम्रो देश, लोकतन्त्र, संविधान, गणतन्त्र र परिवर्तन ठूलो संकटमा छ । यो संकटलाई कसरी समाधान गर्ने ? हामी गम्भीर हुनुपर्छ,’ नेपालले जोड दिएर भने, ‘ सिंगो देश, व्यवस्था नै खतरातर्फ उन्मुख भइरहेको छ । कतिपय अभिव्यक्ति, गतिविधि हेर्दा त्यसले राम्रो संकेत दिइरहेको छैन ।’

देशलाई जोगाउनु पर्छ,’ उनले भने, ‘खतरा उन्मुख छ, यसबाट जोगाउनै पर्छ । देश जोगाउने अभिभारा तपाईंहरुको हो, हाम्रो हो ।’

अहिले ओलीप्रवृत्तिविरुद्ध जुधिरहेको भन्दै नेपालले अगामी दिनमा यस्ता प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए । तर, आफूहरु ओेली जस्तै नभएको नेपालले पनि दाबी गरे । ‘हामी ओलीप्रवृत्तिको विरुद्धमा जुधिरहेका छौं । यो व्यक्तिविरुद्धको लडाइँ हैन, प्रवृत्तिविरुद्ध हो । अब ओलीप्रवृत्तिको पुनरावृत्ति नहोस् । यस्ता पात्र नेपालको इतिहासमा ००७ साल भन्दा पहिला थिए होला, ००७ सालभन्दा पछि देखिएको थिएन । त्यो प्रवृत्ति ओलीमा आएर देखियो’ नेपालले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board