मनसुनजन्य विपद् : पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता

काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनजन्य विवादका कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिए । यसैबीचमा मनसुनजन्य विपदका कारण २२६ घटना भएको र २२ जिल्ला प्रभावित भएको उनको भनाइ छ ।

उपप्रधानमन्त्री पौडेलले मनसुनजन्य विपदबाट असार १६ गतेसम्म विभिन्न जिल्लामा आंशिक र पूर्ण क्षति भएका ५७२ घर परिवारलाई अस्थायी बसोबास व्यवस्थाका लागि प्रति परिवार ५० हजार रुपैयाँ पठाएको पनि जानकारी दिए । मनसुनजन्य विपदबाट सिन्धुपाल्चोक, मनाङ, लम्जुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाही लगायतका जिल्लामा ५०५ निजी घर पूर्ण क्षति भएको र ११२ घरमा आंशिक क्षति भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । असार १९ गते सुनसरीमा थला खोला, ट्याङ्ग्रा खोला, बुढी खोला, केशलिया खोला र धनुष खोलामा आएकोे बाढीले २०० घर डुवानमा परेका छन् ।

त्यस्तै, बाढी पहिरो र डुवानका कारण ३६ सरकारी कार्यालय भवन, ९ वटा विद्यालय भवनमा पनि क्षति पुगेको छ । त्यस्तै सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुं, मोरङ, उदयपुर र सिराहामा १–१ वटा गरी १५ वटा मोटरेबल पुलमा क्षति भएको छ । त्यस्तै मनाङमा ५ वटा मोटरेबल काठेपुल, सिन्धुपाल्चोकमा १४, मनाङमा ७ र गोरखा र तनहुँ जोड्ने एउटा गरी २३ वटा झोलुङ्गे पुलमा क्षति भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board