काठमाडौं । बालुवाटारको सरकारी जग्गा कीर्ते प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।
उनी विशेष अदालतमा बुधबार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेका गच्छदार लामो समय फरार रहेर बुधबार विशेष अदालतमा हाजिर भएका थिए । नेपाली कांग्रेसका नेता समेत रहेका गच्छदारविरुद्ध परेको मुद्दामा विशेष अदालतले सो आदेश दिएको हो । गच्छदार आजै धरौटी रकम बुझाएर छुट्ेका छन् । लामो समयदेखि फरार रहेका गच्छदार बुधबार बिहान अदालतमा उपस्थित भएका थिए । बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषदमा प्रस्ताव लैजाने कार्य गरेको आरोप उनीमाथि थियो ।
गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको हो । गच्छदारको तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, कृष्णप्रसाद सापकोटा, अधिवक्ता ललित बस्नेत र मधुर पाठकले बहस गरेका थिए । । उनीहरुले विभागीय मन्त्रीका हिसाबले फाइल मन्त्रिपरिषदमा पेसमात्रै गरेको भन्दै गच्छदारको बचाउ गरेका थिए । मन्त्रिपरिषदमा प्रस्ताव मात्रै लगेको र भ्रष्टाचारको कसुर नगरेको उनीहरुको जिकिर थियो ।
गच्छदारलाई धरौटी लिने वा थुनामा पठाउने काम नगर्न गच्छदारको तर्फबाट बहसमा सहभागी वकिलहरुको माग थियो । विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
COMMENTS