उत्तराखण्ड भारतीय पर्वतीय राज्य हो । उत्तराखण्डलाई देवभूमि (Land of Gods) हिन्दुमन्दिरहरु, धार्मिक तीर्थयात्रीहरुको केन्द्रविन्दु मानिन्छ । प्राकृतिक वातावरणले सुशोभित सुन्दर हिमालय श्रृंखला पनि भनिन्छ । देहरादुन मैसुरीबाट हिमालय पर्वतका सुन्दर दृश्यहरु अवलोकन गर्न पाइन्छ । गंगा नदी यमुना नदी शहरको एक छेउबाट बगेर गएका छन् । (Beauty view of Himalayan ranges and river Ganga, Yamuna Howling either side of the city) केदारनाथ यात्रा देहरादुन, मैसुरी हुँदै गइन्छ । यस क्षेत्रमा नेपालीहरुको बसोवास रहेछ । नेपालीहरु कामको खोजिमा उत्तराखण्ड जादा रहेछन् ।
मैले सपनामा मेरी आमालाई देखेको थिएँ । आमा उस्तै झरझराउदी थिइन् । कोशी किनारामा अन्तिम सँस्कार गरेको थिएँ । केही महिनापछि सपनामा आमाले दर्शन दिनुभयो । म एक्लै भए हिँड त मसँग भनी हात समात्नुभयो । मेरी आमाको दिव्यरुप स्वरुप देखेर हर्सिद त भए तर मैले केही भन्न सकिन, केही भन्नु नै थियो । मेरो बालबच्चाप्रति मेरो जिम्मेवारी पूरा भएको छैन । मेरा जिम्मेवारी पूरा भएपछि म आउनेछु मेरी आमासँग भनी झल्यास्स बिउँझिएँ । मलाई लाग्यो सनातन धर्मअनुसार मृत्यु पश्चात पितृहरुलाई यस लोकबाट मुक्ति गर्न केही धार्मिक कर्तव्य वा धार्मिक कर्म केही कमी बाँकी भए जस्तो महशुस हुन गयो । पितृहरुलाई मुक्त गर्न तीर्थ, वर्त, श्राद्ध गर्ने हाम्रो सनातन धर्म परम्परा छ । मैले त्यही सम्झिएँर तिर्थ गएर आमा बुबा साथै समस्त पूर्वजहरुको आत्मा शान्तिको लागि तीर्थयात्रा गर्ने मनमा अठोट गरेँ ।
केही दिनपछि मेरा सम्धी ईश्वरीप्रसाद भण्डारी, सम्धिनी मेनुका भण्डारी सम्धिजीको भाइ ईश्वरीप्रसाद भण्डारी परिवार (बर्दघाट) श्रीमति मेरो साली डम्बरकुमारी र साडुभाई ललित कट्टेल समेत संयुक्त रुपमा २०७५ साल पौष १७ गते सोमबार महेन्द्रनगर गठ्ठा चौकी वनवास हुँदै रात्रिबसमा विहान पाँच वजेतिर हरिद्वार रेल्वे स्टेशनमा पुगियो । हरिद्वारमा श्री साधु गरिबदासीम धर्मशाला सेवा आश्रम मायापुर हरिद्वार रेल्वे स्टेशन नजिकै रहेछ । धर्मशालामा रात बसियो । भोलिपल्ट विहानै हरिद्वार गंगा किनारामा गंगा स्नान गरेर पितृ श्राद्ध सम्पन्न गरियो । अर्को दिन विहानै हरिद्वार धर्मशालाबाट सुमोमा भारु तीस हजारमा रिजर्भ गरेर केदारनाथ मन्दिरको यात्रा प्रारम्भ भयो । हरिद्वारबाट साँझ हुनमान चठ्ठीमा बास बसेर विहान हनुमान चठ्ठीमा बास बसेर विहान हनुमान चठ्ठीबाट ६ किलोमिटर पैदल हिँडेर यमुनोत्तरीमा तातोपानी कुण्डमा स्नान गरी त्यहाँबाट तेस्रो दिन उत्तरकाशी चौथो दिन गंगोत्तरीमा दर्शन गरी एकरात होटल बसी उत्तरकाशीबाट रामपुरा- सोन प्रयाग होटलमा बास बसेर पाँचौं दिन उत्तरकाशी गौरी कुण्ड, छैटौ दिन गौरीकुण्डबाट आधा घण्टा पैदल हिँडेर केदार नाथ प्रस्थान विन्दुमा पुगियो । म, श्रीमती इन्दिरा, साली डम्बरकुमारी घोडा चढेर र अरु साथीहरु पैदल हिँडनुभयो । केदारनाथ मन्दिर बेस क्याम्प १४ किलोमिटर दुरीमा रहेछ । घोडाको सवारी पहाडी बाटो पहिलो अनुभव नै थियो । चीसो सिरेटो चलिरहेको, उकाली ओराली घोडाबाट तल हेर्दा पहाडको छाँगो कलकल पानी बगिरहेको रमाइलो वातावरण थियो । करिब करिब ४ घण्टामा बेसक्याम्प पुगेमा बाटो सागुरो भएकाले त्यही बाटोमा घोडामा जाने यात्री पैदल हिँड्ने यात्री, वृद्ध वृद्धा डोकोमा भरियाले बोकेर कोही डोलीमा चढेर यात्रा गरिरहेकाले केही असजिलो अवश्य थियो । बेस क्याम्पमा सुरक्षाको राम्रो व्यवस्था थियो । प्रहरीहरु वाकिटकी बोकेर हिडिरेहका । यस क्याम्पबाट २ किलोमिटर हिँडेर मन्दिर परिसरमा पुगियो । सिमसिम पानी परिरहेको हिउँ बरबर खसिरहेको, चीसो बतास चलिरहेको, धेरै चिसो अनुभव भएको थियो । नेपाली धर्मशाला खोज्दै खोज्दै पुगियो । नयाँ ठाउँ केही असजिलो त भै हाल्दछ ।
यात्रीहरुको आवतजावत भइरहेको थियो । भीडभाड नै थियो । चीसो वातावरणले केही यात्रीहरु मृत्यु भएको पनि सुनियो । पैदल आउने साथीहरु वातावरण अनुकूलताले केही ढिलो आइपुग्नु भयो । सबै भेला भएर लाइनमा खडा भएर करिब एक घण्टामा केदारनाथ मन्दिरमा भगवानको दर्शन प्राप्त भयो । केदारनाथ मन्दिरको वरिपरी पहाडले ढाकेको, पहाडलाई हिउँले ढाकेको सेताम्य थियो । विहानैको मिरमिरे घाम,सिमसिम पानी परिरहेको । हिउँ बरबर खसिरहेको, मिरमिरे घामको टलक परेर हिउँका बुदाबुदा जुनकिरीझैं टल्किरहेको, अति रमणीय दृश्य देखिरहेको, अतिनै रमणीय स्थल रहेछ । घरीघरी मनमा साँच्चै भगवान यही मन्दिर परिसरमा छन की जस्तो भान हुन्थ्यो । सौन्दर्य वातावरण अवलोकनीय थियो । हजारौं मानिसहरु कोही होलीप्याडमा , कोही घोडामा, कोही डोकामा, कोही पैदल भगवानको दर्शन गरी आउने-जाने क्रम चलिरहेको थियो । साँझको आरतीको कार्यक्रममा सहभागी भएर दर्शन गरियो । साँझको आरती मुग्ध कार्यक्रम हुँदोरहेछ । केदारनाथ परिसरमा पं अर्क प्रसाद बाजपेई नेपाली पुजारीसँग भेट भयो । राती नेपाली धर्शालामा भलाकुसारी भयो । वहाँले हामीलाई सहयोग गर्नुभयो । वहाँलाई धन्यवाद दियौं ।
रातिदेखि पानी परिरहेको, बुर बुर हिउँ झरिरहेको आगन सेताम्य थियो । थरथर काम छुट्ने चीसो विहान नौ वजेतिर हामी सबै आफ्नो गन्तव्य स्थलतिर हिँड्न थालियो । साँझको सात बजेतिर बाटो चिप्लो धेरै मुस्किलले सोन प्रयाग पुगेर होटलमा बास बसियो । विहान रुद्रप्रयागबाट हिँडेर ११ वजेको समयमा बद्रीनाथ परिसरमा पुगेऔं । धेरै भीडभाडको समय रहेछ । साँझ परिसकेको हामी दर्शनार्थीको लाइनमा बसेउँ, मन्दिरबाट करिब २ किलोमिटर लाइन थियो । पहाडले ढाकेको हिउँ सेताम्य थियो । त्यहाँको प्राकृतिक देवीको संरचना अति प्रकृति असाध्य चीसो वातावरण रहेछ ।
मानिसको भीड भाडका मानिस दर्शन गर्न तेति लाइन होलान जस्तो लागेको थिएन । धेरै मुस्किलले टाढैबाट दर्शन भयो । विहान आरतीको कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । भगवान बद्री विशालको दर्शन पूर्ण भयो । भोलिपल्ट विहान सनातन धर्मशास्त्र अनुसार कपाल मुण्डन गरी नदीमा स्नान गरेर श्राद्ध गर्न बसियो । त्यहाँ सामुहिक श्राद्ध गर्ने चलन रहेछ । पण्डाले सामुहिक श्राद्ध गराए, गंगाजीमा तर्पण गरी पिण्ड फलफुल बिसर्जन गरेर शिलाको दर्शन गरी धर्मशालातिर लागियो । निजी पण्डाबाट अलग्गै श्राद्ध गर्ने व्यवस्था पनि रहेछ । हामीलाई थाहा हुन सकेन । हाम्रो त्रुटी भयो । बद्रीनाथमा गुल्मेली पसल जितबहादुर थापा । वहाँलाई नेपाली कान्छा भन्दा रहेछन् । वहाँले हामीलाई केही सहयोग पुर्याउनु भयो । मलाई आस्था र श्राद्धा थियो । त्यसमा मेरो विश्वासमा कूठराघात भएको अनुभव भयो । बद्रीनाथ मन्दिर परिसरमा पण्डा देखि कुल्ली, पसलवाला, पुजारीहरुको प्रवृत्ति राम्रो देखिएन । जसरी भएपनि धार्मिक यात्रीहरु प्रति व्यवहार राम्रो पाइएन ।
धर्मशालाबाट विदा भई सुमोबाट हामी फिर्ता प्रस्थान गर्यौं । दश दिनका दिन बद्रीनाथबाट रुद्र प्रयागमा एक रात बास बसेऔं । रुद्र प्रयाग अलकानन्दा+मन्दाकिनीको संगम स्थल रहेछ । रुद्रप्रयाग, अलकानन्द+मंदाकिनीको संगम स्थल, विष्णु प्रयाग, धौली गंगा+ मंदाकिनीको संगम स्थल हुँदै हेर्दै ऋषिकेशमा केही समय विभिन्न स्थलको दृश्यालोकन गर्दै लक्ष्मण झुला अवलोकन गरी ११ दिनका दिन हरिद्वार धर्मशाला पुगेर विश्राम गरेऔं ।
बद्रीनाथ मन्दिर सम्बन्धमा केही जानकारी गराउन आवश्यक ठानें । नरनारायण पर्वतको काखमा समुन्द्र सतहबाट लगभग ३५८३ मीटर उचाइमा अवस्थित बद्रीनाथ विशालको भव्य झकझकाउँदो मन्दिर विद्यमान छ । अलकान्दा नदी बद्रीनाथ मन्दिरको चरण छेउबाट हुँदै बगेकी छिन् । प्रत्येक जात, धर्म, सम्प्रदायका मानिसहरु पूर्ण श्रद्धा एवं विश्वासका साथ भगवान दर्शन गरेर जीवनलाई सफल मान्दछन् । बद्रीधाम मन्दिरदेखि केही सिढी तल तातोपानीले भरिएको तप्त कुण्ड छ । यस कुण्डलाई पवित्र तीर्थ कुण्ड मान्दा रहेछन् । त्यही दिन हरिद्वार गंगा किनारामा आरती कार्यक्रममा सहभागी भइयो । हजारौं धर्मावलम्बीहूरु गंगा किनारमा आरीमा सहभागी थिए । आरती कार्यक्रम अति नै रमणीय हुँदोरहेछ । समय र मौकामा मात्र अलोकीय कार्यक्रम सहभागी हुन मिल्दो रहेछ । धर्मशालामा राति आराम गरी विहान हरिद्वार धर्मशालामा कार्यरत कर्मचारीहरु, हाम्रा सहयोगीहरु सबैसँग भेटघाट गरी विदावारी लिएर रमना गरियो । हरिद्वारबाट सुमोमा नै हामी सबै साँझमा महेन्द्रनगर पुगेऔं । महेन्द्रनगरमा होटलमा बास बसी विहान धनगढी गएर प्लेनबाट १५ दिनका दिन काठमाडौं घरमा विश्राम गर्न पुगियो ।
लामो समयको तीर्थयात्राबाट केही थकित पनि भइयो । लामो यात्रामा केही कष्ट भै नै हाल्दछ तैपनि तीर्थयात्रा सफलतापूर्वक सम्पन्न भएकोमा हामी धेरै हर्षित पनि भयौं । धार्मिक यात्रा वा अन्य सामाजिक भावना राखेर यात्रा गर्नु राम्रो लक्ष्य हो । धेरै कुराको अनुभव साथै साथमा गएका आफन्तजनका साथ माया प्रेम एकआपसमा सम्बन्धमा नयाँपन जागृत हुँदोरहेछ । मेरो विचारमा धर्म भनेको आस्था र विश्वासमा भरपर्ने आधारशीला हो । धर्म, ज्ञान, अध्यात्मले मानिसलाई सही बाटो पहिलाउन सहयोग गर्दछ । मानिस धर्तिमा जन्मन्छ, धर्तिमै आफूलाई बिसर्जन गर्दछ । जसरी आउँछ त्यसैगरी खालि हात जान्छन् । पार्थिव शरीर समाप्त हुन्छ । तर उसका विचार, कृति, धर्म रहिरहन्छ । मानिस आफ्नो लागि बाँचेको नभएर अरुको कल्याणको लागि बाँचेको हुन्छ । यो मेरो तीर्थयात्रा मेरो अन्तिम विचार आत्मा सन्तुष्टिको लागि मात्र हो । धर्म आफ्नो कर्मलेनै निर्धारण गर्दछ ।
COMMENTS