फुङ्लिङकाे फक्ताङ्लुङ (कुम्भकर्ण) हिमाल आरोहण गरिँदै

फुङ्लिङ, १४ असोज । ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो ।


कोभिड–१९ का कारण पर्यटकको उपस्थिति हुन नसकेको दुई वर्षभन्दा बढी समयपछि कुम्भकर्ण हिमाल आरोहणका लागि विदेशी पर्यटक आएका हुन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्ण (७७१० मिटर उचाइ) हिमाल आरोहण गर्न दुई अमेरिकी नागरिकसहित टोलीले तयारी गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ ।

खम्बाचेन गाँउ


परिषद् कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाका अनुसार यसै साताको शनिबारदेखि हिमाल आरोहण गर्ने योजनाका साथ तयारी भइरहेकोे छ । आरोहणका लागि बाटो बनाउने तथा आवश्यक सामग्री ओसार्ने काम भइरहेको शेर्पाले बताएका छन् । आरोही टोली घुन्सादेखि खम्बाचेन र कुम्भकर्ण आधार शिविर हुँदै हिमाल आरोहणमा पुगेको शेर्पाले जानकारी दिए । फक्ताङ्लुङ–६ लेलेपको घुन्सालाई कुम्भकर्ण तथा कञ्चनजङ्घा हिमाल प्रवेशद्वारका रुपमा लिने गरिएको छ ।

घुन्सा गाँउ


दुई अमेरिकीसहित पाँचजना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । पर्यटन विभाग पर्वतारोहण शाखाका निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएबापत रु एक लाख ७६ हजार रोयल्टी रकमसमेत सङ्‍कलन भएको छ । विभागका अनुसार दुई वर्षयता अर्थात् कोरोना महामारी सुरु भएपछि कुम्भकर्ण हिमाल आरोहणका लागि कसैले पनि अनुमति लिएका थिएनन् । तथ्याङ्कअनुसार वि.सं. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक सो हिमालको सफल आरोहण गरेका थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board