काठमाडौं, २२ असोज । अलक्वायदा सशस्त्र समूहले अमेरिकी ट्वीन टावरमा हमला गरेसँगै अमेरिकाले आतंकवादविरोधी युद्ध सुरु गर्यो । अफगानिस्तानमा आफ्ना दसौं हजार सेना तैनाथ मात्रै गरेन, अर्बौँ डलर रकम समेत खर्च गरेको थियो ।२० वर्षपछि अफगान भूमिबाट अमेरिकी सेना फिर्ता भएपछि त्यसबारे विभिन्न कोणबाट समीक्षा हुन थालेको छ । अमेरिकाले लागूऔषध विरोधी कार्यक्रममा मात्रै दैनिक रुपमा १५ लाख अमेरिकी डलर खर्च गरेको तथ्य सार्वजनिक भएको छ।
जुन रकम अमेरिकाले २००२ देखि २०१८ सम्म खर्च गरेको थियो । अफगानिस्तानमा अत्याधीक रुपमा हुने अफिम उत्पादनविरुद्ध लडाइँका लागि भन्दै अमेरिकाले उक्त रकम खर्च गरेको हो । हालै सार्वजनिक भएको अफगानिस्तान पुनर्निर्माणका लागि विशेष निरीक्षण सम्बन्धी सिगार रिपोर्टले यस्तो तथ्य खुलासा गरेको हो ।रिपोर्टका अनुसार २००२ को तुलनामा अफगानिस्तानमा २०१७ मा चार गुणा बढी अफिम उत्पादन भएको थियो । सरकारी अधिकारीहरुका अनुसार पछिल्ला वर्षहरुमा अफिम उत्पादनलाई निरन्तरता दिन तालिबान एक कारक पक्ष मानिएको छ । तालिबानले भने अफगानिस्तामा अफिम उत्पादनलाई प्रतिबन्ध लगाउने प्रतिवद्धता व्यक्त गरेको छ । अफगानिस्तानमा लागूऔषध कारोबार तथा अफिम उत्पादन तालिबान सरकारका लागि एक चुनौती मान्ने गरिन्छ ।
COMMENTS