काठमाडौं, ७ कार्तिक । कोभिड– १९ विरुद्धको खोप नलगाएकाभन्दा लगाएका व्यक्तिले अन्य स्वास्थ्य समस्याबाट ज्यान गुमाउने सम्भावना कम हुने हालैको एक अध्ययनले देखाएको छ ।अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को वेभसाइटमा शुक्रबार प्रकाशित एक रिपोर्टमा अन्य स्वास्थ्य समस्याबाट खोप नलगाएका व्यक्तिको तुलनामा खोप पाएका व्यक्तिले ज्यान गुमाउने सम्भावना कम हुने उल्लेख छ ।‘गत वर्षको डिसेम्बरदेखि २०२१ को जुलाईसम्म भ्याक्सिन सेफ्टी डाटालिङ्क साइटमा सूचीकृत झण्डै १ करोड १० लाख मानिसबीच एउटा अध्ययन गरिएको थियो’, सीडीसीमा प्रकाशित रिपोर्टमा भनिएको छ,’अध्ययनका क्रममा उमेर र लिङ्गअनुसार मृत्यु दरको तुलना गर्दा कोभिड–१९ खोप लगाएका मानिसले कोभिडबाहेकका समस्याबाट ज्यान गुमाउने सम्भावना खोप नलगाएका मानिसको भन्दा कम पाइएको थियो ।’केइजर पर्मानेन्टे सदन क्यालिफोर्नियाका स्टानली सुको नेतृत्वमा गरिएको सो अध्ययनमा फाइजररबायोएनटेक, मोडर्ना र जोनसोन एण्ड जोनसन कोभिड खोप लगाएका मानिसलाई सामेल गराइएको थियो ।
अध्ययनपछि यी खोपका विभिन्न डोज लगाएका मानिसमा एक डोज लगाएका मानिसको तुलनामा मृत्यु दर कम पाइएको थियो ।त्यस्तै, फाइजर र मोडर्ना जस्ता ‘एमआरएनए’ खोप लगाएका मानिसमा जोनसन एण्ड जोनसन जस्ता ‘भाइरल भेक्टर’ खोप लगाएका मानिसको तुलनामा यस्तो मृत्यु दर कम भएको समेत अध्ययनले देखाएको थियो ।फाइजर खोप लगाएका मानिस अन्य स्वास्थ्य समस्याबाट ज्यान गुमाउने सम्भावना खोप नलगाएका मानिसको तुलनामा ३४ प्रतिशत थियो । त्यस्तै, मोडर्ना खोपको हकमा यो दर ३१ प्रतिशत थियो ।
जबकी जोनसन एण्ड जोनसन खोप लगाएका मानिसले अन्य कारण ज्यान गुमाउने संभावना खोप नलगाएका मानिसको तुलनामा ५४ प्रतिशत थियो ।यसबाहेक, उपलब्ध कोभिड खोप लगाउन सुरक्षित र प्रभावकारी रहेको पनि अध्ययनबाट पुष्टि भएको छ । ‘अमेरिकामा मान्यता पाएका कोभिड-१९ का खोप बारम्बार सुरक्षित देखिएका छन्’, सुले सीएनएनसँग कुरा गर्दै भने, ‘यो अध्ययनले खोप सुरक्षित रहेको पुष्टि गर्छ ।’
COMMENTS