बढ्दो शहरीकरण र अव्यवस्थित खानपानले मानिसको स्वास्थ्यमा विभिन्न किसिमको समस्याहरु देखापर्दै आइरहेको छ । विशेषगरी अझ चाडवाडमा हामी स्वास्थ्यलाई भन्दा पनि जिब्रोको स्वादलाई मसालेदार, चिल्लो, पिरो, अमिलो भएको परिकार बनाउनमा बढी मिहेनत गछौ । अस्तव्यस्त खानपान र अस्वस्थ जिवनशैलीबाट उत्पन्न हुने समस्यामा कोलेस्ट्रोल बढ्नु पनि एक हो । यसै विषयमा नेपाल पेजका लागि सन्जिना श्रेष्ठले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईसँग गरेको कुराकानीको मूल अंश ।
आम मानिसले बुझ्ने भाषामा कोलेस्ट्रोल भनेको के हो ?
कोलेस्ट्रोल भनेको एक प्रकारको (लिपिड) प्रोटिन हो । शरीरमा हुने चिज हो, सबैको शरीरमा हुन्छ । शरीरको लागि आवश्यक चिज पनि हो । शरीरको तन्तुहरु, अंगहरुलाई स्थिर राख्नको लागि, बलियो राख्नको लागि, शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन लिपिडहरु÷प्रोटिनहरु आवश्यक कुरा हो । त्यही आवश्यक चिज शरीरमा भइराख्नु पर्नेमा जति हुनुपर्ने हो त्योभन्दा माथि भएमा त्यसले अर्को रुप धारण गर्ने, त्यसले शरीरका अरु अंगमा क्षति पु¥याउँदै जाने भएकाले कोलेस्ट्रोल भन्ने बित्तिकै हामी तर्सिने कारण त्यो हो । तर आम मानिसले बुझ्नुपर्ने कुरा के छ भने कोलेस्ट्रोल आफैमा नराम्रो चिज चाहिँ होइन । यो शरीरलाई चाहिने आवश्यक चिज नै हो । तर, तपार्इं हाम्रो जिवनशैली, खानपान, शारीरिक व्यायाममा कमि हुँदा आवश्यकताभन्दा बढी हुँदा त्यसले असर गर्छ ।
कोलेस्ट्रोल के कति प्रकारको हुन्छ ?
कोलेस्ट्रोल दुई प्रकारको हुन्छ । एउटा राम्रो, अर्को नराम्रो । जस्तो हाइडेन्सिटी लिपिड राम्रो खालको कोलेस्ट्रोल हो । त्यो बढ्दा फाइदै हुन्छ । तर लो डेन्सिटी लिपिड आवश्यकताभन्दा जति बढ्दै गयो त्यति शरीरको लागि हानिकारक हुन्छ ।
खास के कारणले नराम्रो कोलेस्ट्रोल अर्थात् लोडेन्सिटी कोलेस्ट्रोल बढ्छ ?
यो बढ्नुको कारण हाम्रो खानपान नै हो । बोसोजन्य चिल्लो खानाहरु, कार्बोहाइडेडयुक्त खाना बढी खायो भने विशेषगरी (भात, आलु, गुलियो खानेकुराहरु) पछि गएर कोलेस्ट्रोलमा कन्भर्ट हुनसक्छ । तर त्यो हुन नदिनका लागि हामीले हाम्रो खानपानलाई सच्याउनु प¥यो । खाँदै नखाने होइन, थोरै मात्रामा खाने । विशेषगरी उमेर बढ्दै गएपछि, ३०/३५ वर्ष पुगेपछि कुनै कुनै खाना कम खाने भन्ने कन्सेप्टमा जानुपर्छ । त्यो भयो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । अर्को चाहिँ तनावपूर्ण जीवनले तनावको हर्मन बढाउँछ जसले बिस्तारै सुगरको लेबल बढाउँछ । हामीले के बुझ्नु प¥यो भने कोलेस्ट्रोलसँगै सुगर पनि धेरै भयो भने हाम्रो शरीरलाई हानि गर्छ । मुटु रोगकै कुरा गर्नुपर्दा त अझ कोलेस्ट्रोल र सुगर दुवै कन्ट्रोल हुनुपर्छ भन्छौं । स्ट्रेसफुल लाइफ, धुम्रपान, मद्यपान, शारीरिक व्यायामको कमिले कोलेस्ट्रोल बढ्न सक्छ ।
कोलेस्ट्रोल बढ्दाखेरी स्वास्थ्यमा कस्ता समस्याहरु देखापर्छन् ?
कोलेस्ट्रोल बढ्दाखेरी ठ्याक्कै यही हुन्छ भन्ने लक्षण त हुँदैन । कसैकसैको आँखामाथि डल्ला डल्लाजस्तो कोलेस्ट्रोल देखिन सक्छ । त्यो भयो भने चाहि कोलेस्ट्रोल हाइ छ कि भनेर जाँच गर्ने कुरा भयो । कोलेस्ट्रोले गर्ने असरको लक्षणहरु देखिन सक्छ । जस्तो कोलेस्ट्रोल बढ्दाखेरी हाम्रो रक्तनलीमा बिस्तारै बोसोको लेयरहरु बन्दै जान्छ । त्यसले कालान्तरमा गएर कोरोनरी हार्ट डिजिज् अर्थात् हृदयघात गराउन सक्छ । अर्को चाहिँ कोलेस्ट्रोलको लेयर बस्दैबस्दै गएपछि सानासाना नशाहरुमा पेरिफेरल भास्कुलर डिजीज विकास हुन सक्छ, अर्को भाषामा भन्नुपर्दा त्यसले मष्तिस्कको नशालाई स्ट्रोक गर्दिने, आँखाका सा–सानो नशाहरुमा एउटा लेयर बनेर ज्योति कम हुँदै जाने, आँखाको ज्योति नै गुम्न सक्ने हुन्छ । कोलेस्ट्रोलले प्रत्यक्षभन्दा पनि अप्रत्यक्ष रुपमा हृदयघात गराउन सक्छ । पेरिफेरल भास्कुलर डिजिज भएर खुट्टाका नशाहरु ब्लक गरेर खुट्टै काट्नुपर्ने अवस्था आउन सक्छ । आँखाको ज्योति गुम्न सक्छ, ब्रेन ह्यामरेज वा स्ट्रोक हुनसक्छ, पक्षाघात हुनसक्छ । वास्तवमा कोलेस्ट्रोल राम्ररी नियन्त्रण गरिएन भने कालान्तरमा मान्छेको अंगभंग गर्ने, ज्यानै जोखिममा समेत पार्न सक्छ ।
पछिल्लो समय यसको समस्या तिब्र गतिमा बढ्दै जानुको कारण हो ?
मुख्यतः हाम्रो खानपीनमा आएको उतारचढाव नै हो । नेपालकै कुरा गर्नुहुन्छ भने आजभन्दा ६०/७० वर्ष अगाडिसम्म धेरै प्रतिशत जनसंख्या भेजिटेरियन हुनुहुन्थ्यो नेपालीहरु । अहिले आएर हामी एकदमै धेरै मासु खान्छौ । हामी नै बच्चामा मासु दैनिक नभएर हप्तामा, महिनामा एकचोटी मासु खान्थ्यौ । अहिले त हाम्रो भान्छामा दैनिकजसो नै मासु पाकिरहेको हुन्छ । भनेको बढ्दो शहरीकरणले सबै कुरामा सहज पहुँच ल्याइदियो । त्योसँगै हाम्रो फुडह्याबिटमा धेरै परिवर्तन आयो । हामीले मासुजन्य खानेकुराहरु धेरै खान थाल्यौं । गुलियो, कार्बोहाइडेटयुक्त खानेकुराहरु बढी खान थाल्यौ । अर्कातर्फ त्यो किसिमको शारीरिक व्यायामहरु भएन । आजभन्दा अगाडि हाम्रो कृषिप्रधान देश भएकाले नेपालीहरु बढीचाहिँ कृषिमै व्यस्त हुने, त्यो प्राकृतिक रुपमै शारीरिक व्यायाम हुने गथ्र्यो । अहिलेचाहिँ खाने आदत बढ्यो, त्यही अनुसारको शारीरिक व्यायाम भने भएन । त्यसले गर्दा मोटोपना, तौल बढने हुन थाल्यो । आजकल सानै उमेरमा नै तौल धेरै बढेको देखिन्छ । हाम्रो जेनेरेसनपछि त अझ भयावह हुन्छ भन्ने डर लाग्छ मलाई । धुमपान, मद्यपान जुन एक्कासी शहरीकरणमा गयो जसलाई व्यवस्थित गर्नुपथ्र्यो, जसरी युवा, नयाँ पुस्ताहरुलाई जसरी एजुकेट गर्नुपथ्र्यो,त्यो नहुँदा कालान्तरमा ठूलो असर पर्न सक्छ ।
नेपालमा कति प्रतिशत जति जनसंख्यामा कोलेस्टेरोलको समस्या होला ?
समग्रमा मुटुरोगीहरु २५/३० प्रतिशत जति मुटुरोगीहरु छन् । त्यसभित्र सबै पर्यो– कोलेस्ट्रोल, उच्च रक्तचाप, कोरोनरी हार्ट डिजिज पर्यो । समग्रमा म के भन्न सक्छु भने अहिले मुटु रोग अस्पतालमा मुटुको रोग लिएर आउनेमा ४० प्रतिशत मानिस कोरोनरी हार्ट डिजिज, जसले कालान्तरमा हृदयघात गराउँछ, यस्तो किसिमको रोग देखिएको छ । समग्रमा १० देखि १५ प्रतिशत मानिसमा उच्च कोलेस्ट्रोलको समस्या छ ।
मुटु रोगको कारक तत्वमध्ये कोलेस्ट्रोल पनि एक हो, कसरी नियन्त्रणमा ल्याएर मुटुको सुरक्षा गर्न सकिन्छ ?
यदि वंशाणुगत कारणबाट हो भने त्यसलाई समयमै पहिचान गर्नुपर्यो र उपचार गरेर कोलेस्ट्रोललाई घटाउनु पर्यो । अर्को कुरा अहिले ३० वर्षकै उमेरमा पनि हृदयघात भएर धेरै बिरामी आउने गरेका छन् अस्पतालमा । रोग चाहिँ कलिलो उमेरमा हुँदै गएका कारणले ३० वर्षपछि नियमित कोलेस्ट्रोल र सुगरको जाँच गराउन म सल्लाह दिन्छु । त्यसपछि चिल्लो तथा कार्बोहाइडेट भएका खानेकुराहरु एकदमै कम मात्रामा खाने, दिनमा कम्तिमा १ घण्टा शारीरिक व्यायाम गर्नुपर्छ । शारीरिक परिश्रम भन्नाले दौडने, मर्निङ वाक गर्ने, जिम जाने, म्युजिक लगाएर डान्स गर्न पनि सकिने भयो । पसिना आउने गरी, स्वाँस्वाँ हुने गरी, मुटु मज्जाले धड्किने गरी शारीरिक व्यायाम गर्नुप¥यो, जुन चाहिँ स्वास्थ्यका लागि प्रभावकारी हुन्छ । त्यसपछि सकेसम्म तनावलाई कम गर्ने, समयमा सुत्ने, समयमा नै उठ्ने । र धुमपान गर्दै नगर्ने, मद्यपान पनि गर्दै नगर्ने । नियमित चेकजाँच गर्ने र उचाइ अनुसार शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ ।
COMMENTS